पाकिस्तानमा ट्यांकर र यात्रुबस ठोक्कियो

पाकिस्तानको कराची सहरनजिक इन्धन बोकेको ट्यांकर र यात्रुबस आपसमा ठोक्किँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । कराँची अस्पतालका एक अधिकारीले भने मृतकको संख्या ५७ भन्दा बढी रहेको दाबी गरेका छन् । तीव्र गतिमा गुडिरहेको ट्यांकर सडकको गलत दिशाबाट आउँदा बससँग ठोक्किएको र दुबै सवारी-साधनमा आगो लागेको समाचारमा जनाइएको छ ।
बसको छतमा यात्रा गरिरहेका केही यात्रुहरु हाम्फालेर बाँच्न सफल भएको तर भित्र रहेका यात्रु भने बसभित्रै च्यापिएको बताइएको छ । घटनापछि ट्यांकरका चालक भागेका छन् । शिखरपुरबाट कराँची आउँदै गरेको बस दुर्घटनामा परेको हो ।
सडक दुर्घटनाको दृष्टिले पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा जोखमपूर्ण राष्ट्र हो । तथ्यांकहरुका अनुसार पाकिस्तानमा वर्षेनी ९ हजारभन्दा बढी सवारी दुर्घटना हुन्छन् भने कम्तिमा ४५ सय यात्रुले ज्यान गुमाउने गरेका छन् । अघिल्लो महिनामात्रै सिन्ध प्रान्तमा भएको दुर्घटनामा ५० भन्दा बढीले ज्यान गुमाएका थिए ।