
काममा थिए । अचानक म्यानेजर नजिक आएर भन्यो, ‘गनेश देअर ह्याज वीन म्यासिभ अर्थवेक्स इन नेपाल, प्लीज चेक इफ योर फ्यामिली अार अोके अर नट ?’
‘ह्वाट, हेवेन ?’ मानसपटल यसरी सल्बलाउन थाल्यो कि एकै पटक चारैतिर अध्यारो भएको महसुस गरें । बाहिर हेरे । हुस्सु लागे जसरी आकाश डम्म थियो । पानी पर्ला—पर्ला जस्तो देखिन्थ्यो । हत्तपत्त मोबाइल पकेटबाट निकालेर हेर्न थाले ।
भूकम्प गएको समाचार साथीहरुले फेसबुकमा सेयर गरिरहेका थिए । बीबीसी, सीएनएनलगायतका सञ्चार माध्यमहरुले ब्रेकिङ न्युजका रुपमा अर्थक्वेकको समाचार प्रेषित गरिरहेका थिए । भत्किएका भवन, भीरपाखाहरु छरपष्ट फेसबुकको वालमा देखिन्थे । मन एकदमैै डराएजस्तो भयो ।
यतिबेला घर परिवारबाहेक केही सोच्नै सकिन । दुर्भाग्य भनौं वा संजोग मेरो मोबाइलको क्रेडिट लिमिट क्याप गरेर राखिएको थियो । जसका कारण मैले सिधैं कल गर्न सक्ने अवस्था थिएन । बाहिर गएर कलिङ कार्ड किनेर घरमा फोन गर्न भनेर म्यानेजरसँग अनुमति मागे ।
उसले अनुमति दिएपछि दौडदैं पाँच मिनेट पर गएर कलिङ कार्ड किने । पाँच मिनेटको बाटो पनि निकै टाढा लाग्यो । अनुहारमा कसैले पानी छ्यापेर निन्द्राबाट विउझाउन खोजेजस्तो भइरहेको थियो । यति हुँदा पनि विश्वास भइरहेको थिएन । मैले आफैसँग पटक—पटक प्रश्न गरे-के साँच्चै नेपालमा भूकम्प गएकै हो ?
सायद म आफ्नै भयावह डरको दुनियाँमा हराएको थिए । बाटोमा एउटा सिढीमा ठोक्किएपछि झसंग भए । त्यसपछि लण्डनको बाटोमा हिडिरहेको यथार्थ भान भयो । हल्का सिमसिम पानी परिरहेकै थियो । इन्टरनेशनल कलिङ कार्ड किनेर फोन लगाउने सयौं प्रयास गरे । तर, कसैको फोन लागेन ।
फोन नलागेपछि मन झन—झन भारी हुँदैं गयो । चारैतिर मडारिएको कालो बादलजस्तो । जुन झरी वर्षनुअघि गडगडाइरहेको आकाशमा हुन्छ ।
जिन्दगी बुझाइ, भोगाइ अनि पढाइ हो भन्छन् । सानो हुँदा पढ्दा र सिनेमा हेर्दा जुन छाप बसेको थियो त्यही झलझल्ती मनमा सल्बलाउन थाल्यो ।
कति डरलाग्दो, कति भयानक, कति ठूलो । सृष्टिको यस्तो ताण्डव मैले कहिल्यै महसुस गरेको थिइन । थाहा थियो नेपाल भूकम्पीय जोमिखयुक्त देशहरुको टपटेनभित्र पर्छ । तर, भूकम्प मैले कहिल्यै महसुस गरेको थिइन ।
थाहा थियो, १९९० मा भूकम्प गएको थियो भनेर । म एउटा कल्पनामात्र गर्न सक्थे, यस्तो भयो होला भनेर । मानसपटलमा टिभी र भिडियोमा हेरेका वर्तमान र भविष्यका दृश्यहरुले अनौठो तरंग सिर्जना गरिरहेका थिए ।
फोन डायल गर्दा फोन नलागेपछि जसलाई डाइल गर्थे, त्यही मानिस मेरो वरपर आउन थाल्थ्यो । मन सम्हाल्नै नसक्ने हुरी बनेर जताततै बहन थाल्यो । आशंका, तनावका रंगहरु लिएर । चाहेर पनि नराम्रा सोच र कल्पनाहरु दिमागबाट हटाउन सकिन ।
आखिर मन । मन न हो । नराम्रा नराम्रा सोचहरु दिमागमा ताण्डव मच्चाउन थाले । मलाई एक किसिमको औडाहा भइरहेको थियो । तराईको चारकोसे झाडीमा लागेको डडेलोजस्तो गरी जति समय बित्दैं गइरहेको थियो मन त्यति नै दनदनी जलिरहेको थियो । जिउमा मसिनो कम्पन छुटिरहेको थियो ।
सञ्चार माध्यम र फेसबुकमा महाविनासका तस्विरहरु देख्दा यस्तो लाग्थ्यो—काठमाडौंमा कुनै घर नै बाँकी रहेन । अनि मन भन्दैं थियो—होइन, होइन कसैलाई केही भएको छैन । कसैलाई केही हुनै सक्दैंन ।
मनभित्र पीडा दिएर चलिरहेका यी द्वन्द्वहरुलाई आफैले सम्हाल्नुबाहेकको विकल्प थिएन, मसँग । मनलाई सम्हाल्ने प्रयास गर्दै काममा फर्किए । काममा मन नै लगाउन सकिन । फेरि, कुनामा गएर फोन लगाउने प्रयास गरिराखे ।
सधैं हँसिलो मुहारमा देखिने मानिसको उदास र मलिनो मुहार देखेर जो कोही पनि अडकल काट्न सक्थ्यो यो आज पीडामा छ भनेर ।
‘योर फ्यामिली ओके गनेश ?’ भनेर कोहीले प्रश्न गर्थे ।
अनि म भन्थे, ‘ह्याभिङ ट्रयाइङ टु रिच देम बट आइ ह्याभ नट एट ।’ फेसबुकमा हेर्नुबाहेक अरु उपाय कुनै थिएन । परिवारका बारेमा कतैबाट अपडेट पाइन ।
पछि त झन भिडियोहरु फेसबुकमा आउन थाले । भिडियो हेरेपछि झन मलाई सम्हाल्न गाह्रो हुन थाल्यो । आँखाबाट आफै आँशुहरु वर्षन थाले । कामबाटैं लगातार १ घण्टा नेपालमा फोन लगाउने प्रयास गरिरहे ।
त्यहाँ बसिरहन समेत गाह्रो पर्न थाल्यो । म्यानेजरलाई आज काम गर्न सक्दिन भनेर निस्किए । अफिसबाट निस्केपछि पनि निरन्तर घरमा फोन लगाउने प्रयास गरिरहे । तर, सफल हुन सकेन ।
अफिसबाट निस्किएपनि अनौठो बेचैनीको खाडलबाट निस्किन सकिन । मनले भन्दैथ्यो, ‘के आपत आइलाग्यो एक्कासी ?’ अनेक सकारात्मक÷सकारात्मक सोचले मन भारी भइरह्यो । सधैं प्रफुल्ल मन लिएर हिड्ने लण्डन ग्राउण्डको बाटो त्यो दिन थुनिएको गुफाजस्तो लाग्यो ।
त्यो थुनिएको गुफाबाट कतिबेला बाहिर निस्कु र परिवारको आवाज सुनुजस्तो भइरह्यो । त्यो दिन हरेक कुरा लामो लामो लागिरहेको थियो । अफिसबाट घर फर्किने यात्रा पनि जिन्दगीकै लामो र कष्टदायी यात्रा लाग्यो । घर आइपुगे ।
प्यासले प्वाकप्वाक्ती गला सुकेको थियो । घरमा पुगेपछि सुरुमै फ्रिज खोले । अण्डा र दहीबाहेक अन्य केही खानेकुरा थिएन । एक गिलासमा पानी र दही मिसाएर पिए । माथिल्लो तलामा रहेको कोठामा पसे । मलाई अचानक आएको देखेर साथीहरु झसंग भए । मलिन अनुहार धमिलो पीडाका छापहरु स्पष्ट देखिन्थ्यो साथीहरुको अनुहारमा पनि ।
दुवै जना साथीहरु मौन थिए, मानौं आफ्नै घरको कोही मानिस मरेको छ । त्यो गहिरो सन्नाटालाई कसरी बयान गरु । सायद परदेशमा बस्दाका पीडाका खालहरु नै यी हुन् । उनीहरु दुवैजना सँगै बसेर फेसबुक र बीबीसी हेरिरहेका थिए ।
म पनि धेरै बोलिन । मात्र सोधे, ‘कस्तो छ सबैलाई ?’ उनीहरुले पनि घरतिरको केही खबर पाउन सकिएको छैन भने । फेसबुकको न्युज फिड अपडेट गरेर केही सूचनाको आशाले आफ्ना तडपनहरुमा कम गर्नुबाहेक अन्य कुनै अप्सन थिएन, हामीसँग ।
झनपछि झन पौडी खेल्न नजान्ने मान्छे नदीमा डुबेर निस्सासिएजस्तै हुन थाल्यो । करिब ४÷५ घण्टा हामी सबै एकै ठाउँमा बसेर अनेकौ थरिका कुराहरु गर्न थाल्यौं ।
एउटाले भन्दैं थियो, ‘विकृत राजनीतिबाट ग्रसित नेपाल अब महाप्रलयका कारण अझैं संकटमा पर्ने भयो ।’
अर्कोले भन्थ्यो, ‘धरहरा त पूरै ढलेछ, निशानी नै छैन रे ।’ यी यावत कुराहरु । मृतकको संख्या बढ्दै थियो । घटनाका दृश्यहरु झन भयावह रुपमा अगाडि आउँदैं थिए ।
तनावको झण्डैं ५ घण्टापछि मलाई एउटा साथीले म्यासेज ग¥यो । उक्त म्यासेज बुटवलबाट आएको थियो । म्यासेजमा लेखिएको थियो, ‘गणेश यु डन्ट ह्याभ टु वरी । बुटवलमा त्यस्तो केही पनि भएको छैन ।’ त्यो म्यासेज पाउने बितिकै मन केही हलुका भयो । मानौं ठूलो भारी चौतारीमा बिसाएको भरियाजस्तो ।
आज पनि त्यो दिन सम्झदा आङ जिरिङ हुन्छ । डरले लगलग खुट्टाहरु काप्न थाल्छन् । अनुहारमा छिटछिट पसिना छुट्न थाल्छ ।
९ हजार मानिसहरुको ज्यान जानेगरी प्रकृतिले मच्चाएको त्यो महाविनास लाखौंको मनमा एउटा कोलाहलपूर्ण सपना बनेर अझै पनि बिझिरहेको छ । त्यो महाविपतको आज ठीक १ वर्ष भएको छ । दैवको कृपाले मैले त कोही पनि गुमाउनु परेन । तर, हजारौं मेरा नेपाली दाजुभाईहरुलाई दैवले चुडेर लग्यो । हजारौं साथ र सम्बन्धहरु सदा—सदाका लागि मेटिए ।
आज पनि लाखौं घर परिवार विस्थापित छन् । राजनीतिक दलहरु कुर्सीकै खेलमा ब्यस्त छन् । सरकार पुननिर्माणमा प्रतिवद्ध भएर लागेको छैन । देश विदेशबाट उठेको करोडौं रकम अझै पनि पीडितसम्म पुग्न सकेको छैन । विडम्बना, पीडितहरु भोकै छन्, तर खाद्य सामाग्री गोदाममै कुहिएको छ । आजको दिन आफ्नो परिवारका प्रिय मान्छे गुमाउने नेपाली दाजुभाईका आफन्तहरुप्रति मेरो माया, स्नेह र सम्झना । दिवंगतप्रति हार्दिक श्रद्धा सुमन ।






