‘वर्षायामअघि नै सबैलाई छानामुनि ल्याइनेछ’
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षायाम अघि नै हरेकलाई छानामुनि ल्याउने अभियानमा सरकार जुटिरहेको बताउनुभएको छ ।
नेपाल टेलिभिजनमार्फत आजदेखि सुरु गरिएको प्रधानमन्त्रीसँग सिधा कुराकानी कार्यक्रममा उहाँले भन्नुभयो –“आगामी वर्षायामअघि नै अप्ठेरो परेको बेला सामूहिकरुपमा बसोबास गर्नसक्ने अस्थायी आवासको व्यवस्था मिलाउनेछौँ ।”
भूकम्पपछिको निर्माणकार्यलाई अब तीव्ररुपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले भूकम्पप्रतिरोधी र सुरक्षित घर निर्माण गराउने सन्दर्भमा डिजाइन, नक्सा र आर्थिक सहयोग द्रुतरुपमा गाउँगाउँमा पुर्याउने विश्वास दिलाउनुभयो ।
कक्षा ६ मा अध्ययनरत काठमाडौँकी समृद्धि डङ्गोलको प्रश्नको जवाफमा उहाँले भन्नुभयो –“वसन्तपुर क्षेत्रको सोमबारबाट पुनःनिर्माणको थालनी हुनेछ, तर पुरातात्विक धरोहरलाई जस्ताको तस्तै बनाउनुपर्ने भएकाले कला कुँद्ने सिकर्मीको सङ्ख्या कमी भएको हुँदा सो बढाउन तालिम दिनुपर्ने देखिएको छ ।”
आउँदो दुई वर्षमा गाँस, बास र औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी कार्ययोजना तयार गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले राहत र पुनःनिर्माणको काम निष्पक्ष र पारदर्शी हुने प्रतिबद्धता जनाउनुभयो ।
जनताका सबै हक अधिकारलाई सुरक्षित र सुनिश्चित गरेको दिनका रुपमा लोकतन्त्र दिवसलाई लिइने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – “वैशाख १२ गते भने नेपालको इतिहासमा दुःख पीडाको दिन भएकाले तीतो स्मृति दिवसका रुपमा रहनेछ ।”
भूकम्पपछिको राहत र पुनःनिर्माणसँग जोडेर प्रश्न सोध्न भूकम्पमा परेर २२ घन्टापछि उद्धार गरिएका बालक सोनिस अवाललाई बोकेर स्टुडियोमा पुगेकी उनकी आमा रस्मिला अवालसहितले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए ।
सबैले धेरथोर राहत पाए, तर आफूले जग्गाको लालपुर्जा नभएकाकारण राहत पाउन नसकेको अवालको चिन्तालाई शान्त तुल्याउने क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो – “प्रमाणको कुरा होइन, मान्छेको कुरा हो, घर भत्किएको कुरा हो, तपाईंले सहयोग पाउनुहुन्छ ।”
प्रधानमन्त्रीसँग गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भोलि वैशाख १२ गते जिल्लामा हुने पुनःनिर्माणका कार्यक्रम जानकारी गराउनुभएको थियो भने विष्णु दनुवार, समृद्ध डङ्गोललगायतले राहत, पुनःनिर्माण र ढिलासुस्तीसँग केन्द्रित रहेर प्रश्न राख्नुभएको थियो ।
प्रत्येक शनिबार बेलुका ८:४५ बजे ‘प्रधानमन्त्रीसँग सिधा कुराकानी’ नाम दिइएको उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताले राखेका प्रश्नको ४५ मिनेटसम्म जवाफ दिनुहुनेछ ।
विनाशकारी भूकम्प गएको ठीक एकवर्ष पुगेको तथा लोकतन्त्र स्थापनाको दिन पारेर प्रारम्भ गरिएको सिधा कुराकानीले जनताका राय सुझाव, धारणा लिई त्यसलाई सम्बोधन गर्ने माध्यम बन्ने विश्वास गरिएको छ ।
सो कार्यक्रमका सन्चालक लोकप्रिय टेलिभिजन प्रस्तोता रवि लामिछाने हुनुहुन्छ ।
यसअघि, तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले जनतासँग रेडियो नेपालमार्फत प्रत्यक्ष संवाद गर्ने कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो ।






