भद्र सहमतिपालना गर्न प्रधानमन्त्रीको काँग्रेसलाई पुनः आग्रह

kp-sharma-oliकाठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी पूर्व भएको भद्र सहमतिअनुसार सरकारमा आउन नेपाली काँग्रेसलाई पुनःआग्रह गर्नुभएको छ ।

पार्टीको केन्द्रीय कमिटीको छैटौं बैठकका निर्णय सार्वजनिक गर्न आज पार्टी कार्यालय धुम्रबारहीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले काँग्रेसलगायत प्रमुख दलसँग संविधान जारी पूर्व भएको १६ बुँदे सहमति र त्यही बेला भएको भद्र सहमतिका आधारमा जान आफू अझै तयार रहेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले काँग्रेसलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको र त्यसमा केही समय लाग्नसक्ने बताउँदै भद्र सहमतिपालना नहुँदा कहाँ कहाँ कति पाइला चिप्लियो ध्यान दिन आग्रह गर्नुभयो ।

एमालेको बैठकले राष्ट्रका सामु रहेका चुनौतीको सामना गर्न वृहत्तर राष्ट्रिय सहमतिमाथि पुनःजोड दिँदै कांग्रेसलाई विगतमा भएको कमजोरी सच्याउन र भद्र सहमतिको भावनाअनुरुप वर्तमान सरकारमा सामेल हुन आह्वान गरेको उहाँले उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माणको काम केही ढिलो भएकामा आफू सजग रहेको र वर्षा अगावै आकासमुनी रहेका प्रभावितलाई सामूहिक आवास बनाएर भए पनि छानोमुनी ल्याउन कर्मचारी संयन्त्रलाई निर्देशन दिइएको बताउनुभयो ।