काठमाडौँ- नेकपा (एमाले)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।
प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले पार्टीको आन्तरिक एकतालाई जोड दिनुभएको छ ।
उहाँले एमाले एकीकृत रुपमा उभिएकै कारण संविधान निर्माणदेखि सरकार गठनसम्ममा सफलता हासिल भएको बताउँदै फेरि पनि त्यो एकता आवश्यक रहेकामा जोड दिनुभएको केन्द्रीय सचिवालयका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष ओलीले संविधान लागू गर्नका लागिसमेत एमालेको एकता अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै व्यक्तिगत तुस, गुटगत भावनाभन्दा माथि उठ्न आग्रह गर्नुभएको थियो ।
बैठकमा उहाँले सत्तारुढ दलबीचमा कुनै ठूलो विवाद नरहे पनि सञ्चारमाध्यमले अनावश्यक विषय उछालेको जिकिर गर्नुभएको थियो । अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमाथि १० समूह बनाएर छलफल गर्ने गरी आजको बैठक टुङ्गिएको श्रेष्ठले बताउनुभयो ।






