अखिल क्रान्तिकारीको संयोजकमा मल्ल

काठमाण्डु, २६ पुस– एकीकृत माओवादीले पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको संयोजकको जिम्मेवारी रमेश मल्ललाई दिएको छ ।

शनिबार बसेको एमाओवादी केन्द्रीय कार्यालय बैठकले सम्मेलन गर्ने जिम्मेवारीसहित मल्ललाई संयोजक बनाउने निर्णय गरेको हो । मल्ल यसअघि सहसंयोजक थिए ।
गत चैतको २० देखि २५ गतेसम्म काठमाण्डुमा भएको १९ औं राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनबारे विवाद भएपछि पार्टी नेतृत्वले हिमाल शर्मालाई दोश्रो कार्यकालका लागि पुन: अध्यक्षको जिम्मेवारी दिएको थियो ।

असारमा सम्मेलन गर्ने जिम्मेवारीसहित पुन: नेतृत्व लिएका शर्माले सम्मेलन गराउन खोजेका थिए । तर नेतृत्व विवाद कायमै रहेपछि असारमा सम्मेलन हुन सकेको थिएन ।

शर्माले पार्टीको काठमाण्डु जिल्ला अध्यक्ष निर्वाचित भएपछि दोहोरो जिम्मेवारी लिन नसक्ने भन्दै विद्यार्थी अध्यक्षबाट राजीनामा दिएका थिए । तर अहिलेसम्म उनको राजीनामा स्वीकृत भएको थिएन । बैठकले शर्माको राजीनामा स्वीकृत गर्दै मल्लालाई नेतृत्व दिने निर्णय गरेको हो ।