आज घोडे जात्रा पर्व मनाइँदै, टुंडिखेलमा विशेष कार्यक्रम

jatra1काठमाडौं- काठमाडौ उपत्यकामा आज घोडे जात्रा पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र कृष्ण औंशीका दिन घोडे जात्रा पर्व मनाउने चलन छ । उपत्यकाका नेवार समुदायले भने यस दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् ।

घोडे जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । यस क्रममा नेपाली सेनाले शारीरिक व्यायाम, जिम्नाष्टिक, अश्वकला, मोटरसाईकल खेल र युद्धकलाको प्रदर्शन गर्ने गर्दछ ।

ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ । प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको किंवदन्ती छ ।