शेरबहादुरजी सरकारमा आउनूस् : नेता नेपाल

madhavरुकुम- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन नेपाली काँग्रेस पनि सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।

बिहान प्रेस चौतारी रुकुमले मुसिकोटमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेकपा (एमाले)ले नेतृत्व गरेको सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । “शेरबहादुरजी सरकारमा आउनूस्, सँगै हातेमालो गरौँ, विकास निर्माणलाई तीव्रता दिऔँ, सङ्घीयतालाई संस्थागत गरौँ, नमिलेका कुरालाई मिलाएर अगाडि बढौँ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले देशमा लोकतान्त्रिक संविधान आउन सफल भएको भन्दै अब संविधानको कार्यान्वयन गर्ने र विकासको नयाँ अभियान सुरु गर्ने जिम्मेवारी एमालेको काँधमा थपिएको बताउनुभयो ।