बलात्कारीलाई दश वर्ष कैद

मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गर्ने खोटाङका एक युवकलाई १० वर्षको कैद सजाय सुनाइएको छ । मानसिक सन्तुलन गुमाएकी ४० वर्षीया दलित महिलालाई बलात्कार गर्ने सप्तेश्वर–८ का १८ वर्षीय सन्देश राईलाई जिल्ला अदालत खोटाङले १० वर्षको कैद सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले राईलाई बलात्कार गरेकामा पाँच वर्ष र अशक्त महिलालाई बलात्कार गरेवापत पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाएको अदालतका स्रेस्तेदार भीष्म भट्टराईले बताउनुभयो । आफ्नै घरमा सुतिरहेकी सुस्त मनःस्थिति भएकी दलित महिलालाई राईले गत फागुन २५ गते बलात्कार गरेका थिए ।
पक्राउ परेको आठ दिनमै बिनाअनुसन्धान चैत ६ गते रिहा गरिएका राईलाई अधिकारकर्मीहरूको चर्को दबाबपछि पुनः चैत १२ गते मोरङबाटबाट प्रहरीले पक्राउ गरी कारबाही थालेको थियो । नेकपा एमाले समर्थक नेताहरूको दबाबमा २० दिनभित्र पीडित महिलालाई रु एक लाख दिने र जग्गासमेत पास गरिदिने सर्तमा घटना ढाकछोपको प्रयास भएको खुलासा भएपछि अधिकारकर्मीले चर्को विरोध गरेका थिए ।
स्रोतका अनुसार पीडित महिला न्याय खोज्दै सदरमुकाम दिक्तेलसम्म आए पनि आरोपित पक्षले प्रहरीसम्म पुग्न नदिई बाटैमा मिलापत्र गराएर फर्काएको खुलासा भएको थियो । पीडकका आफन्तले आर्थिक प्रलोभन देखाएर बलात्कारका घटना ढाकछोपको प्रयास गरेका थिए ।
जिल्लास्थित मानव अधिकार आयोग, इन्सेक, महिला मानव अधिकार रक्षक, पत्रकारलगायतको विरोधपछि राईविरुद्ध कारबाही प्रक्रिया अघि बढेको थियो ।