काठमाडौं- शत्रुतापूर्ण सम्बन्ध रहेका नेपालका दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच नेपाली भूमिमा सम्बन्ध सुधारको प्रयास भएको छ ।
यसअघि मंसिरमा भएको १८ औं सार्क सम्मेलनमा आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले लामो तिक्तता तोड्दै हात मिलाएर कुराकानी गरेका थिए ।
त्यसपछिका पटक पटक भारत र पाकिस्तानको सम्बन्ध सुधारको प्रयास भइरहेको थियो ।
सार्क राष्ट्रका विदेशमन्त्रीहरुको पोखरामा बिहीबार सम्पन्न बैठक अघि भएको भेटवार्तामा प्रधानमन्त्री सरिफको तर्फबाट पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार सरताज अजिजले भारतीय विदेशमन्त्री सुस्मा स्वराजमार्फत मोदीलाई भ्रमणको औपचारिक निम्ता दिएका हुन् ।
पोखराको ग्रान्ड होटलमा भएको द्विपक्षीय भेटवार्ताका क्रममा अजिजले मोदीलाई भ्रमणको औपचारिक निम्तो दिएपछि यी दुई देशबीचको तिक्ततापूर्ण सम्बन्धमा केही सुधार आएको बताइन्छ ।
मंसिरमा नेपालमा भएको सार्क शिखर सम्मेलनमा हात मिलाएका यी दुई देशबीच भारतको पञ्जावस्थित पठानकोठको सैन्य बेसमा पाकिस्तानबाट आएका आतंककारीले ३१ डिसेम्बर २०१५ मा हमला गरेपछि पुनः तिक्तता चुलिएको थियो ।
तर पोखरामा बिहीबार सम्पन्न सार्कका विदेशमन्त्रीस्तरीय बैठकमा नेपालका परराष्ट्रमन्त्री कमल थापाको समेत उपस्थितिमा दुई देशका प्रतिनिधिबीच शुरुमा अनौपचारिक भेटवार्ता भएको थियो ।
त्यसपछि भएको औपचारिक द्विपक्षीय भेटवार्तामा आगामी नोभेम्बर ९ र १० मा सार्कको १९ औ शिखर सम्मेलनको आयोजक पाकिस्तानले मोदीलाई औपचारिक निम्तो दिएको हो ।






