काठमाडौं- भारत गएको एक महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।
चैत ७ गते चीन जाने प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली ख छ्याङसँग चैत ८ मा भेट गर्ने मिति तय भएको छ । चिनियाँ समकक्षी लीले निमन्त्रणा पत्र पठाउँदै भेटघाट कार्यतालिका राखेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको ठीक एक महिनापछि चैत ७ मा बेइजिङ यात्रामा निस्कनेछन् । उनले पुगेको भोलिपल्टै बेइजिङस्थित जनबृहत् सभा भवनमा चिनियाँ समकक्षी लीसँग भेट गरी दुई पक्षीय छलफल गर्नेछन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेट गर्नेछन् ।
उनी १० गते बेइजिङबाट बोआवो फोरममा भाग लिन हाइनान प्रस्थान गर्नेछन् ।






