अकल्पनीय घेराबन्दीमा ओली

kpस्वयं ओली कटोरी साहै निम्छरो र निरिह देखिएको छ सबै पक्षमा । उनका साथमा न क्षमताबान र सक्षम व्यक्तित्वको टिम छ न स्वयं उनी आफू नै मूख बाहेक केही नै चलाउन सक्ने अवस्थामा छन् । पूरा आरामको आवश्यकता भएको व्यक्ति सेरिएर मर्नुपर्ने भीमसेन थापाको गद्धीमा जो आसिन छन् ।
-शुभशंकर कँडेल

राजनीतिमा खास किसिमको करिअर अर्थात नौ महिने अल्पमत सरकारको गृहमन्त्री भएदेखि निरन्तर खड्ग प्रसाद शर्मा ओली सधैंभर अरुलाई घेराबन्दीमा पार्दै आएका भाग्यमानी पात्र हुन् । त्यसकारणले नै नेपाली राजनीतिमा ओली एउटा जबर्जस्त प्रबृत्तिका रुपमा स्थापित हुन सफल भएका छन् । तर जब ओली राजनीतिको शिखरमा उक्लने बेलादेखि हालै सम्पन्न राजसी ठांटको भारत भ्रमणसक्दाको अवस्थामा आइपुग्दा चर्को घेरावन्दीमा परेका छन् । नेपाली राजनीतिमा घेरावन्दी शव्दावली प्रचण्डले अघि सारेका थिए शान्ति प्रक्रिया सुरु गर्ने बेलादेखि आफू लगातार पार्टी भित्र र बाहिरबाट घेरावन्दीमा परेको प्रचण्डले पालुङटार बैठक आसपासमा सार्वजनिक गरेका थिए । बास्तवमा उनी घेराबन्दीमा थिए र छन् पनि । तर केपी ओली घेराबन्दीमा पर्नु पर्ने विचित्र लाग्दो परिघटना सबैभन्दा मुखर रुपले देखा परेको छ यतिबेला । उनले यस्तो घेरा तोड्न सक्छन् वा घेरावन्दीको सुर्केनीमा पर्छन परीक्षण हुन बांकी छ ।

जब नयां संविधान जारी गर्ने विषयमा प्रमुख तीन दलका बीचमा १६ बुंदे सहमति भयो, त्यही विन्दुबाट नेपाली राजनीतिको पानी ढलोले आफ्नै बाटो बनाउन थालेका हो । त्यतिबेला ओलीप्रति घेरावन्दी गर्ने शक्तिहरुले प्रचण्डकाप्रति नै घेरा कसेका थिए, विस्तारै त्यो घेरा शुशील कोइरालातिर सोझियो, ओलीलाई छोएन । जब संविधान घोषणा भयो, भारतीय आदेशलाई ललकारियो र दिल्ली विछट्टै तरिकाले अत्तालियो । त्यही विन्दुबाट सबै खालका शक्ति केन्द्रहरु ओलीलाई घेराबन्दी गर्न पुगे । त्यही घेराबन्दीको दुष्परिणाम मुलुकले पांच महिनाभन्दा लामो नाकाबन्दी सहनु प¥यो । भारतीय शक्तिकेन्द्रले ओलीलाई लम्पसार पार्ने गरी घेराबन्दी कस्दै लग्यो, त्यही घेरालाई फरक तरिकाले अरु बढी कस्नकै लागि उनको राजशी ठांटमा भारत भ्रमण गराइयो । त्यो भ्रमणमा भारतको स्वाभाविक आशा थियो कि ‘यसपटक ओली महोदय भारतको सम्पूर्ण आदेश तामेली गर्न तयार हुनेछन् ।’ एमालेका नवौं महाधिवेशन पूर्वकै अवस्थामा ओली फर्कनेछन् । तर देशभित्रको पेचिलो स्थिति उनकै बेहोसीमा व्यक्त भएका अडान र प्रतिक्रिया तथा देशभित्रको बौद्धक समुदायको चर्को आशंका र सम्भावित आक्रमणको भयले पनि उनलाई दिल्लीको दैलोमा लम्पसार पर्ने अनुमति दिएको थिएन । आखिर भयो त्यही । ओली बचे ।

भारत भ्रमणका क्रममा उनका समकक्षी मोदी महोदयलाई भेट्नु पूर्वको एक किसिमको उत्साहपूर्ण माहोलमा मोदीसंग ‘वान टु वान’ प्रचार गरिएको तर मोदीका सेक्रेटरीको उपस्थितिमा भएको वार्तालापपछि दिल्लीको दिलमा चिसो पानी खनियो । राजशी ठांटको भ्रमण शोक यात्रा जस्तै बन्न पुग्यो । पूर्व निर्धारित गरिएको राजकीय भोजको आयोजना मात्र रद्ध भएन अहिलेसम्मकै कुनै देशका कार्यकारी प्रमुखको भेटपछि जारी गरिने संयक्त वक्तव्य जारी गर्ने कर्मकाण्डी परम्परालाई समेत लत्याइयो । ओली भ्रमणमा मिडियाका पर्दामा कहींकतै मोदी मेनिया देखिएन । नत ओलीका अल्लाहादित चुट्की नै सुन्न पाइयो । एक सकसपूर्ण दिन गन्तीमा ओलीका पछिल्ला चार दिन विते टेहरी ड्यामको अर्थहीन अवलोकनदेखि मुम्वइको झिलिमिलिमा समेत ।

ओली दिल्ली जानु पूर्व नै संसदमा बोल्दा एजेण्डाविहीन भ्रमण बताएका थिए । त्यसैलाई मात्र खण्डन गर्न भएपनि भारतीय पक्षले सात बुंदे सम्झौता गरेर ओली बासी एजेण्डा बोकेर दिल्ली आएको सन्देश दिंदै ओलीको मानमर्दन गर्न सफल भयो । भारतीय राजनीतिक समुदायलाई समेत मोदीले ओलीलाई खुद्रा मसिना कुरा माग्न आएको बटुवाका रुपमा प्रचार गराउन सफल भए । मोदीले आफ्नो भाषणमा एकीकृत सुरक्षा जांचा चौकी राख्ने विषयमा सहमति भएको बताए तर ओलीले र उनको टोलीले समेत आजसम्म त्यसका बारेमा मुख खोलेको छैन । नयां संविधानका बारेमा टरमा सेन्टरको भाषणलाई मोदीले कपी पेष्ट गरे । छानिएका शव्द र शैलीबाट नेपालप्रतिको चिसोपनालाई झन बल्झाउने काम गरे उनले । यस्तो अवस्थमा अर्को छिमेकीलाई एक कुटिल सुर्केनीमा पार्ने जालसांझीका कुनै बखत आफूलाई अंशियार नै सम्झने ओलीले केही गर्न सक्दैनथे केवल मौनता सांध्न बाहेक । ओलीले त्यही गरे । यद्यपि उनले आफ्नो बुद्धि र क्षमताले भ्याएसम्म भारतीय पक्षलाई नेपालको अवस्था र संविधानका बारेमा बुझाउने कोशिश त गरे तर भारतीय पक्षको अनुमोदन चाहने लघुताभाषी संस्कारले नेपाललाई झन लज्जित बनाउने अवस्थामा पु¥याएको छ ।

ओलीसंगको भेटमा मोदीले आफ्न सेक्रेटरीलाई नोट गर्न लगाएर भारत बाहेक अरु देशसंग कुनै पनि प्रकारका व्यापार, लगानी वा भारतको विकल्प खोज्ने कुराले तिमीलाई झन अप्ठेरो पर्नेछ भन्ने चेतावनी दिए । त्यसको नियत आसन्न चीन भ्रमणका बेला कुनै पनि प्रकारले भारतको विकल्पमा चीनसंग केही नगरियोस् भन्ने नै थियो । ओलीले सुन्नु बाहेक अरु के नै गर्न सक्दथे र ? त्यतिबेला ओलीले स्पष्ट जबाफ नदिनु नै भारतीय ठूल्दाई प्रवृत्तिमा गम्भीर धक्का लागेको मोदीले महसुस गरे । तत्कालै उनले त्यो चिसोपनलाई पत्रकारसम्मेलनमा प्रकट गरिहाले । के यत्तिकैका यो अध्याय समापन भयो त ? यस्तो सोच्नु गम्भीर भूल हुनेछ ।

ओली भ्रमणअघि भन्दा अझ बढी ओलीलाई घेरावन्दी गर्ने, दबाव सिर्जना गर्ने, केही प्रलोभनको आश्वासन दिने जस्ता सबैप्रकारका हथकण्डा अपनाउन थालेको छ दिल्लीले । दिल्लीले ओलीमाथि दबाब सिर्जना गर्ने एक मात्र उद्धेश्यमा खुफिया एजेन्सी ‘रअ’लाई विशेष निर्देशन जारी गरेको छ । त्यो केवल ओलीको चीन भ्रमण असफल पार्नका लागि । आफूसंग नझुकेका ओलीले चीनसंग व्यापार तथा पारवाहन सन्धि नगरुन भन्ने चाहन्छ । दिल्लीले नेपाल र चीनका बीचमा विद्युत व्यापार तथा खरिद सम्झौता नहोस् भन्ने चाहन्छ । उसको सबैभन्दा ठूलो यही कलुषित चाहना पूरा गर्नका लागि ओलीमाथि सामदामदण्ड भेदका सबै तरिका अपनाउन थालेको छ दिल्लीले । स्वभाविक रुपमा बेइजिंगले कुनै पनि सम्झौता र सहमति गर्न गनसक्ने भए किन हामीसंग मित्रताको स्वाङ रच्छौ भनेर प्रश्न गर्न ढिला भइसकेको निश्कर्षमा पुगेको छ। यो बीचमा ओली सरकारका तर्फबाट भएका मन्त्रीहरुका तोरीलाहुरे भ्रमण र रबैयाले बेइजिंङलाई अनावश्यक रुमपा बदनाम गरेको छ ।

यस्तो अवस्थाबाट चीनसंग विश्वास आर्जन गर्नकै लागि भएपनि ओलीले आफ्नो भ्रमणको बेलामा चीनसंग केही न केह गर्नै पर्ने बाध्यता छ । त्यसमाथि ओलीको भारत भ्रमण सफल हुने र नहुने कुराको अत्र्यनै उनको चीन भ्रमणसंग जोडिएको छ । जब उनले चीन भ्रमणका बेला नेपालको भारत निर्भरता हटाउने गरी चीनसंग सहकार्यको सम्झौता गर्न सफल भए भने मात्र ओलीको भारत भ्रमण सफल भएको ठहरिने छ। तर ओलीले चीन भ्रमणमा पनि दिल्लीको जस्तँै रबैया अपनाए भने भारत सफल हुनेछ । नेपाल फेरि एकपटक हार्नेछ ।

अर्कातिर ओलीमाथि सत्ता गठवन्धनको मुख्य पक्ष अझ अर्को शव्दमा भन्दा ओलीको ढाल बन्न तयार रहेको एमाओवादीले ओलीलाई कुनै पनि हालतमा भारतका अघि कुनै पनि प्रकारको प्रलोभनमा नपर्न दबाब बढाइरहेको छ । यो कुनै छद्म दबाव नभएर एमाओवादीको खुला नीति नै हो । एमाओवादी र विशेष गरी प्रचण्डको सहमति विपरित अघि बढ्न पनि ओलीलाई सजिलो छैन । त्यसो गर्दा बर्बादीको बाटोमा घचेटिनु नै हो । यही पर्खाइमा छ ओली विरोधी माधव नेपाल समुह । माधव समूहले पनि ओलीलाई कसरी सिंहासनबाट खसाल्ने भन्नेमा सबै प्रकारका तरिका अवलम्वन गरिरहेको छ । जुन तरिका यसभन्दा पहिले सबैभन्दा बढ्ता स्वयं ओलीले नै अख्तियार गर्दै आएको जानेमानेको एमालेभित्रको स्थापति परम्परा हो ।

सत्ता गठवन्धनको जोक्करका रुपमा सिक्वेन्स लाग्न आइपुगेको कमल थापा पक्षले ओलीमाथि राष्टवाद पगरी गुथाइदिएर हिन्दुवादी रुझानमा ढल्काउने असफल दबाब दिंदै आएको छ । यस्तो दबाब जारी राखेर हुने नहुने सबै प्रकारका फाइदा लिन चाहन्छ राप्रपा नेपाल । स्वयं ओली कटोरी सा¥है निम्छरो र निरिह देखिएको छ सबै पक्षमा । उनका साथमा न क्षमताबान र सक्षम व्यक्तित्वको टिम छ न स्वयं उनी आफू नै मूख बाहेक केही नै चलाउन सक्ने अवस्थामा छन् । पूरा आरामको आवश्यकता भएको व्यक्ति सेरिएर मर्नुपर्ने भीमसेन थापाको गद्धीमा जो आसिन छन् । यस्तो अवस्थामा चौतर्फी देखिएको घेराबन्दी र दबाबलाई कुन हदसम्म ओलीले थेग्ने ल्याकत राख्छन् त्यही आधारमा नै देशको भविष्य जोडिन पुगेको छ । आशा गरौं ओलीले भारतीय खुफिया एजेन्सीको षडयन्त्रकारी घेरा तोड्न सफल हुनेछन् । त्यसबेला उनको विगतलाई इतिहासको एउटा दुखान्त पाठ मानेर बर्तमानमा ‘क्याबात ओली महोदय’ भन्न पाइनेछ ।