सिटौलाको पक्षमा को-को ?

सभापतिको प्रतिष्पर्धामा नआउन पौडेललाई आग्रह

krishna sitaulaकाठमाडौं- नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी उपसभापति रामचन्द्र पौडेललाई आगामी महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छन् ।

राजधानीमा शुक्रबार भेला भएका संस्थापन पक्षधर युवा नेताहरुले उपसभापति रामचन्द्र पौडेललाई पार्टीको नेतृत्व युवामा हस्तान्तरण गर्न आग्रह गर्दै पार्टीमा अभिभावकत्व ग्रहण गर्न समेत आग्रह गरेका छन् ।

नेपाल महिला संघकी अध्यक्ष डा. डिला संग्रौला, पूर्वमन्त्री जनकराज गिरी, काभ्रे कांग्रेसका निवर्तमान सभापति शिवप्रसाद हुमागाईं, जेसिसका पूर्ब अध्यक्ष एवं चितवनका नेता दिनेश कोइराला, नेविसंघका केन्द्रीय सदस्यहरु सिन्धुपाल्चोकका बलदेव तिम्सिना, खोटाङका दिनेश राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य कालिकोटका नारायण भट्टराई, गोरखाका जनार्दन अर्याललगायत डेढ सय बढी महाधिवेसन प्रतिनिधिहरुको सहभागिता थियो ।

उनीहरुले कार्यबाहक सभापति पौडेललाई पार्टीको अभिभावकत्व ग्रहण गर्दै लौहपुरुष गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराईको झैं उचाई लिन आग्रह गरेका थिए । उनीहरुले बीपीको राजनीतिक दर्शनलाई कार्यान्वयन गर्न, गिरिजाप्रसाद कोइरालाको शान्तिप्रक्रियाको राजनीतिक कार्यदीशालाई पुरा गर्न र संविधानसभाद्धारा जारी संविधान कार्यान्वयन गर्न पनि कृष्णप्रसाद सिटौलालाई नै संस्थापनपक्षबाट सभापतिमा उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।

उनीहरुले सभापतिको उम्मेदवार हुनबाट एक इन्च पनि पछि नहट्न सिटौलालाई आव्हान गरेको नेबिसंघका नेता बलदेव तिमल्सिनाले बताए ।