काठमाडौं- एउटा मात्रै इन्जिन भएको काष्ठमण्डपको विमान कालिकोटमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले एकल इन्जिन भएको बिमान परीक्षण नगरीकन नउडाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान आकस्मिक अवतरण गर्ने क्रममा शुक्रबार दिउसो कालिकोटको चिलखाया गाविसमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परेर पाइलट र कोपाइलटले ज्यान गुमाए । दुर्घटना भएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोखरेलले परीक्षण गरेर मात्रै विमानलाई उडान भर्न दिन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।
विमान दुर्घटनाको कारण पत्ता लगाउन छानविन समिति
सरकारले नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।
पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । सदस्यहरुमा नेपाली सेना, हवाई महानिर्देशनालयका प्रमुख सेनानी रविन्द्र बस्नेत, गोमा एयरका वरिष्ठ इन्जिनियर रमेशकुमार सिंह र सदस्य सचिवमा मन्त्रालयमा सहसचिव हरिबहादुर खड्का छन् ।






