कांग्रेस पनि बहुपदमा

congresकाठमाडौं- दोस्रो र तेस्रो ठूलो दल एमाले र एमाओवादीमाजस्तै सबैभन्दा ठूलो दल कांग्रेस पनि बहुपदीय संगठनात्मक ढाँचा बनाउने भएको छ ।

मंगलबार बसेको समिति बैठकमा एक वरिष्ठ सहित तीन उपसभापति थप गर्ने प्रस्ताव दर्ता भएको छ । पार्टी प्रवक्ता दीलेन्द्रप्रसाद बडुले एक वरिष्ठसहित तीन उपसभापति र आवश्यकताअनुसार सहमहामन्त्री थप गर्ने प्रस्ताव बैठकमा प्रस्तुत भएको जानकारी दिए ।

मनोनित समेत गरेर ९७ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिदैछ । तीन उपसभापतिमध्ये एक अनिवार्य महिला हुनुपर्ने व्यवस्था प्रस्तावमा गरिएको छ । कोषाध्यक्षलाई मनोनित गर्ने प्रस्ताव छ ।

सात प्रदेशमा एक-एक जना महिला प्रतिनिधित्व हुने प्रस्ताव गरिएका कारण आरक्षित सिटमा थप नगरिएको विधान मस्यौदा समितिका सदस्य जीवन परियारले बताए ।

केन्द्रीय सदस्य मनोनित गर्दा ट्रेड युनियन, प्रजातन्त्र सेनानी, आपंगता भएका र द्वन्द्व पीडितबाट समेत प्रतिनिधित्व गराउने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ ।