काठमाडौँ- उपप्रधानमन्त्री चन्द्रप्रकाश मैनालीले नेपालको संविधानलाई आफू अनुकूल बनाउने विदेशी रणनीति पहिलो पटक असफल भएको बताउनुभएको छ ।
आदर्श नागरिक समाज नेपालको प्रथम वार्षिकोत्सवको उद्घाटन गर्दै उहाँले संविधान निर्माणको समयमा जस्तै नेपालले एकीकरणकालदेखि नै विभिन्न खड्गो काट्दै आफ्नो अस्तित्व जोगाएको स्मरण गराउनुभयो ।
बिपी कोइरालाले प्रतिपादन गरेको विसं २०३३ को राष्ट्रिय मेलमिलाप नीतिले राष्ट्रको एउटा ठूलो खड्गो काटेको बताउँदै उहाँले भन्नुभयो, “देशको एकीकरणकै समयमा नेपालमाथि बाह्य शक्तिबाट ११ पटक हमला भए, सुगौली सन्धिपछि एक तिहाइ भू–भाग गुमाएर भए पनि देशले अस्तित्व जोगाउनुपर्यो ।”
महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले भन्नुभयो, “विभिन्न माध्यमबाट प्रस्तुत भएका बाह्य हस्तक्षेपका पहिलो संविधानसभाबाट संविधान बनाउन सकिएन, दोस्रो पटक आफैँ सफल हुँदा पनि नाकाबन्दी गरियो, त्यसैले अझै खड्गो सकिएका रहेनछन् भन्ने बुझ्नुपर्छ ।”






