रोकिएका कांग्रेस अधिवेशन आजबाट

congres
काठमाडौं- सभापति सुशील कोइरालाको निधन भएपछि रोकिएको कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गतका जिल्ला, क्षेत्र र गाउँ तहका अधिवेशन शनिबारबाट सुरु हुँदै छन् ।

कांग्रेस सभापति कोइरालाको मंगलबार निधन भएपछि केन्द्रीय निर्वाचन समितिले जारी अधिवेशनका कार्यक्रम १ फागुनसम्म रोक्ने निर्णय गरेको थियो । निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले रोकिएका अधिवेशनका कार्यक्रम शनिबारबाट सुरु हुने तयारी पूरा भएको जानकारी दिए ।

२५ माघसम्म २९ जिल्ला अधिवेशन र ६५ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ । बाँकी जिल्लामा केहीमा गाउँ–नगर अधिवेशनसमेत हुन सकेको छैन भने केही जिल्लाले गाउँ–नगर अधिवेशन सम्पन्न भएर क्षेत्रीय अधिवेशन तयारी थालेका छन् । बारा, पर्सा, सर्लाही, धनुषा, सप्तरी, सिरहालगायतका जिल्लामा मधेस आन्दोलनका कारण तथा सोलुखुम्बुमा सदस्यता विवादका कारण अधिवेशन हुन सकेको छैन ।

जिल्ला अधिवेशन सम्पन्न भएकामध्ये झापा, पाल्पा, जाजरकोट र मनाङमा निर्विरोध सभापति निर्वाचन भएका छन् भने बाँकीमा निर्वाचनमार्फत सभापति चयन गरिएको छ । झापामा उद्धव थापा, पाल्पामा वीरबहादुर राना, मनाङमा टेकबहादुर गुरुङ र अर्घाखाँचीमा विष्णुप्रसाद खनाल ‘मुस्कान’ निर्विरोध निर्वाचित भएका हुन् ।

२५ माघमा निर्वाचन भएका केही जिल्लाको परिणाम अझै टुंगो लाग्न सकेको छैन । पहिलो चरणमा ५१ प्रतिशत मत नल्याउने जिल्लामा दोस्रो चरणमा सभापतिको निर्वाचन हुँदै छ । लमजुङ, चितवन, बर्दिया, प्युठान, बाँके र ललितपुरमा सभापतिका कुनै पनि उम्मेदवारले विधानमा व्यवस्था भएबमोजिम स्पष्ट बहुमत प्राप्त नगरेपछि पुन: निर्वाचन गर्ने तयारी भइरहेको सदस्य घिमिरेले जानकारी दिए । संखुवासभामा सभापतिका दुई उम्मेदवारको मत बराबरी भएको छ ।

दोलखा, सिन्धुपाल्चोक र कैलालीमा आन्तरिक विवादका कारण जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । केही जिल्लामा भने जिल्ला कार्यसमिति चयन गर्न मतदान सम्पन्न भई मतगणना गर्ने कार्य बाँकी छ । सदस्य घिमिरेले शनिबारदेखि बाँकी रहेका जिल्लामा निर्वाचन सुरु गरी १० फागुनसम्म जिल्ला अधिवेशन सम्पन्न गरिने बताए ।