काठमाडौँ- नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा भुटानका गृह तथा संस्कृति मन्त्री दावा ग्याल्तसेनले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
स्व कोइरालाको अन्त्येष्टिमा सहभागी हुन काठमाडौँ आउनुभएका भुटानी गृहमन्त्री ग्याल्तसेनले केहीबेर अघि दशरथ रङ्गशाला गई स्व कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । कोइरालाको निधनको खबर पाएपछि मन्त्री ग्याल्तसेन गए राति नै काठमाडौँ आउनुभएको थियो ।
यसैबीच, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति शोक सन्देश पठाई समवेदना प्रकट गर्नुभएको छ ।
काँग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालामार्फत प्रधानमन्त्री तोब्गेले पठाउनुभएको सन्देशमा नेपाली काँग्रेस र नेपाली जनताका लागि दुःखद् खबर हो, भन्दै, यस विपद्को घडीमा धैर्य धारण गर्न आग्रह गर्नुभएको छ ।
स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न रङ्गशालामा बिहानैदेखि सर्वसाधरणको भीड लागेको छ ।






