उदयपुर– सांगठानिकरुपमा मधेस आन्दोलनको शसक्त प्रतिकार गर्दै आएका युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले अबको एक हप्ता भित्र तराईका नाका खुलाउन मधेस केन्द्रित दलहरुलाई अल्टिमेटम दिएका छन् ।
उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित सगरमाथा अञ्चल भेलालाई सम्बोधन गर्दै अध्यक्ष पहारीले आगामी एक हप्ता भित्र तराईका नाका नखोले देशभरका युवा परिचालित हुने चेतावन दिए । उनले तोकिएको सयम सिमाभित्र अवरोध नहटे देशभरका युवा संगठित रुपमै नाका र राजमार्गमा उभिएर प्रतिकार गर्न तयार रहेको स्पष्ट पारे ।
मधेस केन्द्रित दलहरु प्रति निकै आक्रमक देखिएका अध्यक्ष पहारीले नेपाललाई सिक्किमीकरण गर्न खोज्ने मधेसी मोर्चाका नेताहरुको युवा संघले एक–एक हिसावकिताव गर्ने चेतावनी दिए । राष्ट्र र राष्ट्रियतालाई तिलान्जली दिएर आन्दोलनमा सहयोग माग्दै विहार पुगेका मोर्चाका नेतामाथि युवा संघले निगरानी गरिरहेको बताउँदै उनले दोहोरो चरित्र बोकेर नेपालमा बस्ने अधिकार मोर्चाका नेतालाई नभएको स्पष्ट पारे ।
उनले तराईलाई भारतमा गाभ्ने मधेस केन्द्रित दलहरुको योजना युवा संघको सशक्त प्रतिकारकै कारण पुरा हुन नसकेको बताए । उनले भने, ‘नेपालमा १० लाख विहारी पठाएर सिंहदरबार घेर्ने लालु यादव र रघुवंश सिंहको अभिव्यक्ति र मधेस केन्द्रित दलको तराई भारतमा गाभ्ने षडयन्त्र मेल खाएकाले छ जुनकुरा हामीले यसअघि नै भनिसकेका थियौ ।’
संविधान संसोधन लगत्तै मधेसी नेताहरु विहारी नेता लालु यादवकोमा लम्पसार पर्न जानुले पनि तराईलाई भारतमा गाभ्ने षडयन्त्रको प्रमाणित भएको उनले बताए । उनले अहिलेको तराई आन्दोलन मोर्चाका नाममा भारतीय दलाल एजेण्टहरुले व्यक्तिगत स्वार्थका लागि गरेको स्पष्ट पारे ।
अध्यक्ष पहारीले तराईमा बढ्दो कुसंस्कारको अन्त्य गर्न तराईमा आर्थिक प्याकेजलाई अगाडी बढाउन सरकारलाई सुझाब दिए । फरक प्रंशगमा उनले देशका युवालाई युवा संघले पुर्ननिर्माणको अभियानमा परिचालन गर्न लागेको बताए ।
कार्यक्रममा युवा संघ नेपालका एक दर्जन केन्द्रिय स्तरका नेताहरुले बोलेका थिए । बोल्ने अधिकांश वक्ताहरुले तराईमा जारी आन्दोलनले आम युवाबिद्यार्थीको भविश्य डामाडोल मात्र नभई आम नेपाली महंगीको मारमा परेको बताएका थिए ।
तीन महिने मधेस संवाद जागरण सञ्चालन गरेको युवा संघले तराईमा आर्थिक प्याकेज ल्याउनु पर्नेमा जोड दिएको छ । तराईमा बढ्दो बोक्सी, दहेज प्रथाको अन्त्य गर्न र हुलाकी राजमार्गलाई तिव्रता दिन संघले सरकारसँग तराई आर्थिक प्याकेजको माग गरेको प्रभक्ता प्रभातविक्रम कटुवालले बताए ।
कटुवालले विहारी नेताको गुलामी गर्न गएका नेताहरुको असली रुपलाई यसपटक जनतालाई मिहिन ढंगले नियालेको बताए ।






