खानेपानीको महसुल नबुझाउनेको लाइन काटिँदै

Tapइलाम- इलाम नगरपालिका कार्यालयले समयमा नै खानेपानीको महसुल नबुझाउने ग्राहकको धमाधम पानीको लाइन काट्न थालेको छ । दुई वर्षअघि देखिको पनि महसुल नउठेका कारण लाइन काट्न थालिएको हो ।

कार्यालयले आदर्श उच्चमाविसहित छ उपभोक्ताको धाराको लाइन काटिसकेको छ भने ८५ उपभोक्ताको धाराको लाइन काट्ने जनाएको छ । आदर्श उच्चमाविको मातहतमा रहेको तीनवटा धाराको लाइनबाट मात्रै करिब रु ३४ हजार महसुल उठ्न बाँकी रहेको नगरपालिकाका शाखा अधिकृत रामकुमार शाहले बताउनुभयो ।

करिब रु छ लाख बक्यौता रहेको जनाउँदै नगरपालिकाले बक्यौता नउठेसम्म यो प्रक्रिया जारी राखिने जनाएको छ । लाइन काटिएका छजना ग्राहकबाट मात्रै करिब रु ५२ हजार महसुल उठ्न बाँकी रहेको छ । चार महिनासम्म नियमित रूपमा महसुल नबुझाउने ग्राहकको पानीको लाइन काटिने कानुनी प्रावधान रहे तापनि त्यो प्रावधान अहिलेसम्म कार्यान्वयन भएको छैन ।