लण्डन । नेपालका भूकम्प पीडितलाई सघाउन लन्डनमा प्रदर्शन गरिएको नेपाली चलचित्र तीन घुम्तीको च्यारिटी शोमा झण्डै सवा लाख रुपिया संकलन भएको छ ।
नेपाल विद्यार्थी संघ बेलायतले इन्टरनेशनल नेपलिज आर्टिष्ट सोसाइटी (इनास) यूके र एभरेष्ट इन रेष्टुरेन्टको सहकार्यमा आइतबार गरिएको शोमा करिब आठ सय पाउण्ड बढि संकलन भएको हो ।
नेपाल विद्यार्थी संघ बेलायत, एभरेष्ट इन रेष्टुरेन्ट र बेलायतमै बस्ने चलचित्रका नायक ध्रुब दत्तको संयुक्त पहलमा च्यारिटी शो गरिएको हो । शोमा टिकट बिक्रीबाट ५ सय २० पाउण्ड संकलन गरिएको र झण्डै ३ सय पाउण्ड सहभागी अतिथीहरुको सहयोगबाट जम्मा भएको शोका संयोजक तथा नेविसंघ बेलायतका उपसभापति रेशम बस्यालले बताए ।संकलित रकम चलचित्रका नायक दत्तलाई हस्तान्तरण गरिएको र नेपालमा चलचित्रकै टिमको माध्यमबाट पीडितसम्म पुरयाइने उनले जानकारी दिए ।
चलचित्रको प्रदर्शन सुरु हुनुअघि सञ्चालित छोटो औपचारिक कार्यक्रमको अध्यक्षता शो संयोजक तथा नेविसंघ उपसभापति बस्यालले गरेका थिए । नेविसंघ बेलायतका कार्यवाहक सभापति कुश बस्नेतले सञ्चालन गरेको कार्यक्रममा सभापति विनोद सुवेदीले स्वागत मन्तव्य दिए ।
कार्यक्रमका प्रमुख अतिथी तथा बेलायत कांग्रेस सभापति लोक गुरुंग, एनआरएन युरोप संयोजक कुल आचार्य, एभरेष्ट इन ग्रुपका निर्देशक पशुपति भण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै च्यारिटी कार्यक्रममा ऐक्यबद्धता जनाए ।
शोमा गायक आनन्द कार्की, एनआरएन यूके कोषाध्यक्ष दिपक श्रेष्ठ, पत्रकार फणिन्द्र भट्टराई, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष मनिष श्रेष्ठ, गुल्मी समाजका सल्लाहकार मोति भण्डारी, व्यवसायीहरु सुरज केसी, राजन खरेलका साथै नेविसंघ आबद्ध विद्यार्थीहरु गणेश दाहाल, प्रदिप चौलागाई, राजन खकुरेल, नवराज कार्की लगायत झण्डै ५ दर्जन दर्शक उपस्थित थिए ।
वीपी कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमा आधारित उक्त फिल्म बाबुराम ढकालले निर्देशन गरेका हुन् । उक्त सिनेमामा बेलायतमै रहेका नायक ध्रुव दत्तसहित गरिमा पन्त, सुशान्त कार्की, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापा आदिको अभिनय छ । उक्त फिल्मले बेलायतमा राम्रो प्रतिष्ठा बटुलिरहेको नायक दत्तले जनाए । अल्डरसटमा प्रिमियर गरिएपछि उक्त सिनेमा रेडिङ, क्याट्रिक, ननिटन, योर्क, एवरडिन र फोकस्टनमा प्रदर्शन भइसकेको छ । आगामी जनवरी ३० मा ब्रेकन वेल्स र फेब्रुअरी ६ मा कोलचेष्टरमा समेत प्रदर्शनको तयारी भएको दत्तले जनाए ।







