भारतीय राजदूतलाई फिर्ता पठाउन संसदमै नाराबाजी

ranjit-rayकाठमाडौं- नेपालको संसदमा पहिलोपटक कुनै पनि कुटनीतिज्ञलाई फिर्ता पठाउन आवाज उठेको छ ।

संसदको मंगलबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदहरुले संसद बैठकमै भारतीय राजदूत रञ्जित रेविरुद्ध नाराबाजी गरेका छन् । सांसद प्रेम सुवाल र अनुराधा थापामगरले संसदमा राजदूत रेविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले नेपालको संविधान संशोधनमा हस्तक्षेप गर्ने भारत को हो ? , देश बिखण्डन गर्न पाइँदैन, राजदूत रेलाई फिर्ता गर भन्ने नारा लगाएका थिए ।

आजको संसद बैठकमा नेमकिपाका सांसदले भारतीय हस्तक्षपविरुद्ध र मधेसी मोर्चाका सांसदले मोर्चाको माग पूरा हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

सभामुख ओनसरी घर्तीले कांग्रेस सभासद फर्मुल्लाह मन्सुरलाई बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आवद्ध सांसद र नेमकिपाका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।

बैठक सुरु हुनेवित्तिकै नाराबाजी भएपछि सभामुखले मंसिर २० गते १ बजेसम्मका लागि संसद स्थगित गरेकी छन् ।