रामसपा अध्यक्ष शरतसिंह भण्डारी पनि कांग्रेसमा !

sharad-singh-bhandariकाठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) का अध्यक्ष शरतसिंह भण्डारीदेखि लिएर संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्व कृषिमन्त्री हरिनारायण यादवसम्मलाई पार्टीको क्रियाशिल सदस्यका रुपमा कायम राखेको छ ।

कांग्रेस निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको क्रियाशिल सदस्यको सूचीमा ११ औं महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका भण्डारीलगायतका पूर्वनेताहरुलाई समेत क्रियाशिल सदस्यका रुपमा अद्यावधिक गरेको पाइएको छ ।

क्रियाशिल सदस्य छानबिन समितिको लापरबाहीका कारण अर्कै पार्टीका अध्यक्षलाई समेत कांग्रेसको क्रियाशील सदस्यका रुपमा अद्यावधिक गरेर गम्भिर त्रुटि गरेको पाइएको छ । भण्डारीको महोत्तरी-६ र यादवको महोत्तरी-२ बाट क्रियाशिल सदस्यको सूचीमा नाम रहेको छ ।

यसैगरी, २०७० सालको संविधानसभा निर्वाचनमा एमाओवादीको तर्फबाट महोत्तरी-२ मा उम्मेदवार बनेका लालुबाबु यादव र सोही पार्टीबाट उम्मेदवार बनेका रायजी हैदारलाई पनि कांग्रेसको क्रियाशील सदस्यका रुपमा अद्यावधिक गरिएको छ ।