चार मन्त्रीद्वारा निगमको थानकोट डिपो निरीक्षण

oil thankotकाठमाडौँ- बजारमा पेट्रोलियम पदार्थको अभाव खड्किएका बेला नेपाल सरकारका चार मन्त्रीले आज नेपाल आयल निगमको थानकोटस्थित डिपोको आकस्मिक निरीक्षण गर्नुभएको छ ।

निगमको मौज्दात क्षमता र वितरण प्रणालीलाई सुधार्ने उपायबारे जानकारी लिन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, आपूर्तिमन्त्री गणेशमान पुन र जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साँझ निगमको थानकोट डिपोबारे जानकारी लिनुभएको हो ।

निरीक्षणका क्रममा निगमको मुख्य डिपो थानकोटमा कति इन्धन मौज्दात रहेको र वितरण प्रणालीमा केही सुधार गर्न सकिन्छ कि भनेर सबै मन्त्रीले जिज्ञासा राखेकामे निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । “अहिले कति इन्धन छ, कति दिनलाई वितरण गर्न पुग्छ, वितरण प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे मन्त्रीज्यूहरुले जिज्ञासा राख्नुभयो र आवश्यक निर्देशन दिएपछि लेखेर पठाउने भन्नुभएको छ”– उहाँले भन्नुभयो ।