काठमाडौँ- व्यवस्थापिका–संसदमा दफावार छलफलको क्रममा रहेको संविधान संशोधनको प्रस्तावलाई पारित गर्ने सम्बन्धमा आज प्रमुख दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीच छलफल भएको छ ।
प्रमुख सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल काँग्रेसका पदाधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावलाई सहमतिमा मिलाएर लैजानेबारे छलफल भएको काँग्रेस नेता महेश आचार्यले बताउनुभयो ।
बैठकमा संविधान संशोधनमार्फत आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने बारेमा समेत छलफल भएको नेता आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा काँग्रेसका पदाधिकारीले संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावलाई सबैको सहमतिमा समेटेर लैजानुपर्ने धारणा राखेपछि एमालेका नेताले त्यसमा आफूहरु सकारात्मक रहेको बताउनुभएको थियो ।






