गगनशिला खड्का
गुल्मी १९ पुस । जिल्लालाई सन् २०१५ सम्म खुला दिसामुक्त जिल्ला घोषण गर्ने लक्ष्यकासाथ गुल्मीका गाउँ गाउँमा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यक्रम संचालन भईरहेका छन् ।
जिल्ला विकास समिति अन्र्तगतको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले अहिले समुदायको अगुवाईमा पूर्ण आनीवानी सुधार गर्न प्रशिक्षण अभियान संचालन गरेको हो । व्यक्तिको आनीवानीमा सुधार नआएसम्म गाउँ टोल सफा हुन नसक्ने भएकाले यस्ता कार्यक्रमको माध्यमबाट जनचेतना जगाइएको छ । सोही अभियान अन्र्तगत जिल्लाको खज्र्याङ्ग गाविसको आत्मबोध उ.मा.वि.हलमा ४ दिनसम्म “स्वस्थ्य रहने हाम्रो चाहना, घर घरमा चर्पी गाउँको गहना” नाराकासाथ पूर्ण आनीवानी परिवर्तन तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन जिल्ला विकास समिति गुल्मीका वाश सल्लाहकार शम्भु प्रसाद शाहले सरसफाईमा प्रतिवद्धता हामी सबैको ऐक्यवद्धता भन्दै मैनवत्ति प्रज्वलीत गरी उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा उच्च माध्यमिक विधालका प्राचार्य,गाविस सचिव, राजनैतिक दल लगायतका व्यक्तिहरुले विचार राख्नु भएको थियो ।
४ दिनसम्म संचालन भएको तालिमको अन्तिम दिन कार्य योजना समेत तयार गरी गाविस सचिव,प्राचार्य, उपस्वास्थचौकी प्रमुख,राजनैतिक दल,वडा नागरिक मंच संयोजक,स्वास्थ्य स्वंमसेवीका लगायत तालिमका सहभागी २९ जना सबैले हस्ताक्षर गरी २०७१ माघ २५ गते भित्र खुल्ला दिसामुक्त, पूर्णखोप, पूर्ण साक्षरता, पूर्ण उज्यालो र पूर्ण धुवाँरहित गाविस घोषणा गर्ने लिखित प्रतिवद्धता गरेका छन् । तालिमको सहजिकरण फिल्ड संयोजक छविलाल विश्वकर्मा र स्वास्थ्य प्रवद्र्धक लुम बहादुर श्रीसले गर्नु भएको थियो ।
त्यसै गरी दौंघा गाविसमा “स्वस्थ्य रहने हाम्रो चाहना, घर घरमा चर्पी गाउँको गहना” नाराकासाथ पूर्ण आनीवानी परिवर्तन तालिम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गाविस सचिव जुद्ध ब.पछाईले व्यानर पढी उद्घाटन गर्नु भएको थियो । ४ दिनसम्म संचालन भएको तालिमको अन्तिम दिन कार्य योजना समेत तयार गरी गाविस सचिव, प्र.अ., उपस्वास्थचौकी प्रमुख,राजनैतिक दल,वडा नागरिक मंच संयोजक,स्वास्थ्य स्वंमसेवीका लगायत तालिमका सहभागी ३० जना सबैले हस्ताक्षर गरी २०७१ माघ १५ गते भित्र खुल्ला दिसामुक्त, पूर्ण साक्षरता, पूर्ण उज्यालो गाविस घोषणा गर्ने लिखित प्रतिवद्धता गरेका छन् । तालिमको सहजिकरण फिल्ड संयोजक छविलाल विश्वकर्मा र स्वास्थ्य प्रवद्र्धक लुम ब.श्रीसले गर्नु भएको थियो ।
सरसफाईमा सक्रिय हुँदै गुल्मीका स्थानीयवासी






