हरि आचार्य ,लण्डन
युवा भनेको देशको मेरुदण्ड हो । कुनै पनि देश विकाश हुनलाई युवा जनशक्तिको मुख्य भुमिका रहन्छ। घाइते अनि पाको उमेरका बा आमालाई त आफ्ना बुढेसकालको साहारा छोराछोरीको आश लाग्छ भने जननीलाई पनि आफ्ना सन्तानप्रति आश लाग्नु स्वभाविक हुन्छ जसले आफ्नो बालापनदेखि पढनपाठन सम्पूर्ण त्यही माटोमा खर्चेका हुन्छन् एउटा सुनौलो भविश्यको आशमा ।
एउटा युवाले जसो तसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ तर उ आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउँछ, कतिलाई चाकरी गर्छ तर उ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अप्नाउँछ त्यो हो विदेश पलायन।
हुनेखाने र सक्षम जो छन् उनीहरुको रोजाईमा पर्छ
अमेरिका, लन्डन अनि अस्ट्रेलिया अनि निम्न वर्गीय र पढाईबाट हैरान भएकाहरुको रोजाईमा पर्छ खाडी मुलुक। गएको ५ बर्षमा मात्रै ३४ लाखभन्दा बढि नेपाली युवा विदेश पलायन भयको एक सर्वेले बताएको छ जुन हृदयविदारक र कारुणिक छ। किन युवाहरु विदेश पलायन भइरहेका छन्। यो विषयमा नेपाल सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण त गर्छ तर दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिलै पनि गम्भीर भएर सोच्न सकेन जसको फलस्वरुप ऊ र्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना काठमाडौंको त्रिभुवन विमानस्थलबाट सप्तरङ्गी फूलको मालाको साथमा चाँडै फर्किने आशमा आँखा भरि आँशु पारेर बुढा बुढी आमा बाबालाई छोडेर परदेशिन बाध्य हुन्छन्।
जीवन पनि त्यस्तो सोचे जस्तो कहाँ सजिलो छ र विदेशको। खाडी मुलुकको कथा आफ्नै छ। कुनै पनि देश जानु भन्दा अगाडि त्यहाँको बस्तु स्थिति, हावा पानी, सामाजिक अनि साँस्कृतिक रहनसहन, नियम कानुन जान्न एकदम जरुरी हुन्छ। कसैको लहैलहैमा वा बकम्फुसे गफको पछि नलागी इन्टरनेटको दुनियाँमा आफैंले अनुसन्धान गरेर बास्तविकता के हो बुझेर आउँदा फलदायी हुन सक्छ। आफू भन्दा दिग्गज् जसलाई वास्तविकता थाहा छ ती साथीहरू जसबाट उचित परामर्श लिन सकिन्छ उनीहरुसँग राय सल्लाह लिएर चालेको कदम नै उचित हुन्छ।
विद्यार्थी भिसामा आउँदै हुनुहुन्छ भने, आउनु भन्दा अगाडि कलेज वा विश्व विद्यालयको बारेमा राम्रोसँग बुझेर आउँदा राम्रो हुन्छ। भिसा लगाउनु वा आउनु ठूलो कुरा होइन । यहाँ आइसकेपछि आइपर्ने बाधा अड्चन मुख्य हुन जान्छ। कलेजको चर्को फि तिर्ने कसरी, कस्तो काम गर्ने, काम पाउने सम्भावना के कति हुन्छ, वैद्यानिक रुपमा हप्ताको कति घन्टा काम गर्न पाइन्छ, बस्ने ठाउँ कस्तो छ, खानपिन र बसाईमा कति खर्च लाग्छ, यस्ता यावत वियको जानकार हुन जरुरी हुन्छ। यति मात्र नभएर तपाईं पढ्न आउनुभएको विषयको भविश्य के कति छ, कि छैन त्यो बुझ्न महत्त्वपूर्ण हुन्छ ता कि तपाईंले गरेको खर्च भोलि गएर पानीमा नजाओस् ।
तपाईं विदेश जाँदै हुनु हुन्छ भने तपाईंको स्वास्थ कस्तो छ त्यो बुझ्न एकदम जरुरी छ। तपाईं कतिको स्वास्थ हुनुहुन्छ त्यसले नि ठूलो असर पार्न सक्छ। कति साथीहरु आफ्नो स्वास्थ्यको कारणले काम गर्न नसकेको मैले देखेको छु। घरको स्थितिले या मायामा फसेका साथीहरू ‘होम सिक’ले गरेर फर्केको पनि यदाकदा सुन्नमा आउँछ। आफूले सोचे जस्तो गर्न नसक्दा या भनौं साथीले यति कमाई सक्यो मैले केही गर्न सकेन भनेर प्रतिस्पर्धा गर्दा उदासिनता भएर डिप्रेसनको शिकार हुने पनि यदाकदा सुन्नमा आउँछ।
त्यसैले नेपालमा बसेर सोचेको अनि सम्झेको जस्तो सजिलो छैन विदेश, बाउ आमाको बुई चडेर घुर्की लगाई लगाई बाइक र स्कुटीमा घुमे जस्तो सजिलो पनि छैन विदेश । जिन्दगीलाई नजिकबाट अनि स्वावलम्बी बन्नलाई एकचोटी आउन पर्ने रहेछ विदेश । लेखक : गैरआवासीय नेपाली संघ बेलायतका युवा संयोजक हुन्







![12540066_10205539216988638_1770378622_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12540066_10205539216988638_1770378622_n1.jpg)