एक वर्षभित्रमै लोडसेडिङ अन्त्य : ऊर्जामन्त्री

top bahadur rayamajhiपर्वत- उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गर्नुभएको छ ।

शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट सम्पन्न गरेर एक वर्षभित्र लोडसेडिङ कम गर्ने बताउनुभयो ।

उहाँले एक वर्षभित्रमा झण्डै २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गर्नुभएको हो ।

उहाँले नाकाबन्दीको प्रभावकाबीचमा पनि सबै आयोजनालाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिमचरणमा पुगेका योजनाले विद्युत् उत्पादनका लागि तीव्ररुपमा काम अघि बढाएको बताउनुभयो ।

मन्त्री रायमाझीले ऊर्जा सङ्कटकाल घोषणा गरेर मुलुकलाई तीव्रगतिमा विद्युत्मा आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागू गर्ने चरणमा रहेको बताउनुभयो ।