काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १० साताभित्रै दुवै छिमेकी मुलुकको भ्रमण गर्ने गरी तयारी अघि बढाएका छन् ।
उनले फागुन पहिलो साताभित्र भारत भ्रमण गरिसक्ने र त्यसै महिना तेस्रो साता चीन जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो ।
दुवै मुलुकका सरकार प्रमुखबाट निम्तो पाएका प्रधानमन्त्री ओलीले चीनबाट विदेश यात्रा आरम्भ गर्ने अधिकारीहरूले बताउँदै आए पनि उनी पहिले दक्षिणतर्फ नै जाने सम्भावना बढेको परराष्ट्र अधिकारीले बताए ।
वीरगन्ज नाका नखुलेसम्म भारत भ्रमण नगर्ने अडानमा रहेका प्रधानमन्त्री फागुनमा भारत जाने योजना रहेको, तर नाका खुल्न ढिला गरिएमा पहिले चीन जाने विकल्प खुला नै राखिएको अर्का अधिकारीले बताए ।






