काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर मर्मत नगरिदिँदा राजधानीका एक दर्जनभन्दा बढी स्थानमा विगत १५ दिनभन्दा बढी समयदेखि स्थानीयवासी मर्कामा परेका छन् ।
पटक–पटक ट्रान्सफर्मर र कन्डक्टर मर्मत गरिदिन आग्रह गरे पनि प्राधिकरणले कुनै सुनुवाइ नगरेको स्थानीयवासीको भनाइ छ । काठमाडौँको बालाजु बाइपास, नेपालटार, गोंगबु, कोटेश्वर, कलङ्की, बलम्बु, कीतिपुर, थापागाउँलगायतका स्थानमा आधामात्रै विद्युत् प्रवाह हुने गरेको छ ।
खाना पकाउने समयमा विद्युत्को अत्यधिक माग भए पनि प्राधिकरणले मर्मतमा ध्यान दिन सकेको छैन । पछिल्लो दिनमा सहरी क्षेत्रमा अत्यधिक विद्युत् भार पर्दा ट्रान्सफर्मर जल्ने गरेको छ ।
ट्रान्सफर्मरमा समस्या आएको भन्दै प्राधिकरणले कतिपय स्थानमा आधामात्रै विद्युत् दिने गरेको छ ।
त्यसबाट मोबाइल चार्ज गर्नसमेत नपाइएको भन्दै स्थानीयले नजिकको प्राधिकरणको कार्यालयमा सम्पर्क गरे पनि फोन नउठाउने, मर्मतमा ध्यान नदिने, रुखो व्यवहार गर्ने गरेको बालाजु बाइपासका भाइकाजी मर्हजनको दुःखेसो छ ।






