काठमाडौं– झन्डै चार महिनादेखिको नाकाबन्दीबारे संसदमा छलफल गराउने तयारी भएको छ ।
कांग्रेसका सांसदहरुले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा दर्ता गराएपछि सभामुख ओनसरी घर्तिले नेपालमा जारी नाकाबन्दीको विषयमा ब्यवस्थापिका संसदमा छलफल गराउने तयारी गरेकी छन् ।
‘सरकारले नाकाबन्दीको विषयमा संसदमा छलफल गर्ने कोसिस गरेको हो । तर विभिन्न दलको अवरोधको विचमा संसद चलाउनु परेकोले नभएको हो,’ उनले भनिन्, ‘अनुकुल समयमा यस विषयमा छलफल हुन्छ ।’
सभामुख घर्तिले अहिलेको मुलुकको प्राथमिकता निकास भएकोले नेपाली जनताको माग संबोधन गर्नु प्रमुख कुरा भएको भन्दै मुलुकको आन्तरिक समस्या समाधान भएपछि त्यस्ता अरु विषय पनि अघि बढ्ने बताइन् ।
उनले विगतमा संसद र संविधानसभा अवरोधका विच चलाएको अभ्यास पनि अलिखित नियम भएको भन्दै अहिले त्यही नियम अनुसार दुखद विषय भए पनि बाध्यतावस अवरोधकाबीच संसद चलाउनु परेको बताउँदै दलहरुवीचको छलफल, संवाद र संविधान संशोधन प्रक्रिया सँगसँगै अघि बढ्ने जानकारी दिइन् ।
संविधान संसोधनको विषयमा ३० भित्र जनतालाई जानकारी दिनु पर्ने कामपछि प्रक्रिया अघि बढिसकेको भन्दै विद्येयकमाथिको सैद्धान्तिक छलफलसमेत अघि बढेको बताइन् । उनले भनिन्, ‘सोमबार संशोधन विद्येयकमाथिको सैद्धान्तिक छलफल सुरु हुन्छ ।’






