धरान, पुस १५
आफूले चाहेको युवकसँग विवाह गर्न लागेको थाहा पाएपछि बाबुआमाले मान्छे लगाएर बराहक्षेत्र मन्दिरनजिकको सप्तकोसी भिरमा खसालेका थिए । सुनसरीको बराहक्षेत्र दर्शन गर्न जाने भनेर फकाउँदै ल्याएर आफ्नै बाबुआमाले अरूलाई लगाएर छोरीलाई भिरबाट खसालिदिएका छन् । खसालिएकी एक भारतीय युवती ज्योतिकुमारी यादवको उद्धारपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गत बिहीबार उनको उद्धार गरिएको थियो
ज्योतिको हत्या गर्न लगाउने आमा ममता यादव, बाबु कुञ्जनकुमार यादव र हजुरबुबाका भाइ पर्ने प्रदीपकुमार यादव र सँगै आएका मनोजकुमार यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ । घटनाको अनुसन्धान गर्दा बाबुआमाले नै हत्या गराउन खोजेको देखिएकाले पक्राउ परेका चारजनालाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिने इप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक राम ढकालले बताए । बाबु कुञ्जनकुमार र आमा ममताले मान्छे लगाएर भिरमा खसालेको बिहारस्थित मध्यपुरा-२१ बस्ने २२ वर्षीया ज्योतिले बताइन् । उनको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । प्रहरीले छोरीको हत्या गर्न चाहने बाबु, आमा, हजुरबुबा र हत्या गर्न ल्याएका युवालाई प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार साँझ एकान्त ठाउँ पुगेपछि बाबुआमा र हजुरबुबाको इसारामा भाडामा ल्याइएका युवाले आफ्नो मुख थुनेर घाँटी थिचेको र त्यसपछि मुन्टो बटारेर भीरबाट सप्तकोसीतिर हुत्याइदिएको बताइन् ।आफूलाई जन्मदिने बाबुआमाले मान्छे लगाएर मार्न लगाउँछन् भन्ने मैले कल्पनासमेत गरेकी थिइनँ ।’ मरी भनेर यादव परिवारले छाडेपछि भिरमा ज्यान बचाइदिन गुहार मागिरहेकी युवतीको आवाज सुनेपछि स्थानीय गाउँलेले उद्धार गरेका थिए । उनको उपचार प्रतिष्ठानमा भइरहेको छ,






