काठमाडौँ- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा साँझ संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा जानुभएको छ ।
नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेका अवसरमा पुस १ गते आयोजना हुने विशेष स्वागत समारोहमा बेलायतमा परराष्ट्रमन्त्री थापाले भाग लिनुहुनेछ ।
बेलायतको लन्डनमा उहाँले समकक्षी फिलिप ह्यामोन्डलगायतका उच्च अधिकारीसँग भेट गर्नुहुनेछ । भ्रमणका क्रममा बुधबार आयोजना गरिने भोजमा वरिष्ठ नेता एवम् मन्त्री तथा उच्चपदस्थ अधिकारीका साथै त्यहाँका संसद्का प्रतिनिधिसँग पनि भेट हुने जनाइएको छ ।
बिहीबार नेपाल र बेलायतबीचको दोस्रो द्विपक्षीय परामर्श बैठकमा मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भाग लिनेछ ।
उपप्रधानमन्त्री थापाको भ्रमणका क्रममा बेलायतमा रहेका नेपालीसँग पनि भेट तथा छलफलको कार्यक्रम राखिएको छ ।
परराष्ट्रमन्त्री थापा आगामी पुस ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँका साथ मन्त्रालयका उच्चपदस्थ अधिकारी पनि रहनुहुनेछ ।






