
काठमाडौं- नेपाली कांग्रेसको १३औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा महामन्त्रीमा दोस्रो बरीयतामा रहेका नेताहरुबीच प्रतिस्पर्धा तीब्र हुने भएको छ ।
महामन्त्रीका लागि आकांक्षीहरुको संख्या ६ पुगेको छ । महामन्त्रीमा उम्मेदवार बन्न चाहेका अधिकांशको पहिलो रोजाइ सभापति सुशील कोइराला नेतृत्वको संस्थापनभन्दा वरिष्ठ नेता शेरबहादुर देउवा समूह परेको छ ।
महाधिवेशनमा सभापतिकै आकांक्षी देखिएका नेता अर्जुननरसिंह केसी समूह परिवर्तन र अभियानमा पहिलो नम्बरमा परेका छन् । केसीले आफू महामन्त्री बन्नका लागि संस्थापनसँगै वरिष्ठ नेता शेरबहादुर देउवा समूहसँगसमेत एकसाथ बार्गेनिङ अघि बढाएका छन् ।
कोइराला परिवारभित्रकै डा. शेखर कोइरालाले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । उनले पनि देउवा समूहतिर पनि छलफल चलाएको बुझिएको छ ।
हाल भारतमा उपचार गराइरहेका खुमबहादुर खड्काले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । देउवा समूहबाटै पूर्णबहादुर खड्का पनि महामन्त्रीका आकांक्षी छन् ।
सभापतिका आकांक्षी भन्दै प्रचार गराएका डा रामशरण महतको भित्री चाहना पनि महामन्त्री नै छ । कोइराला समूहका उनी अहिले कोइरालासँगै देउवा समूहसँग पनि वार्ता अघि बढाइरहेको स्रोतको दाबी छ ।






