मोरङ- संयुक्त मधेसी मोर्चाको बन्दका कारण विद्यालयका बसहरु चल्न सकेका छैनन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मोरङ अध्यक्ष टीकाराम ढकालका अनुसार लामो समयसम्म प्रभावित बनेका शैक्षिक संस्थाहरु खुले पनि मोर्चाले तोडफोड गर्ने डरले विद्यालयका बसहरु सञ्चालनमा आउन नसकेका हुन् । जसले गर्दा अभिभावकहरु दोहोरो मारमा परेका छन् ।
यही मङ्सिर ४ गते यता विद्यालय सञ्चालनमा आए पनि विद्यालयका बस मोर्चाको त्रासले अझै सञ्चालनमा आउन नसकेका हुन् । गत साउन २८ गतेदेखि यता बन्द भएका शैक्षिक संस्थालाई मङ्सिर ४ गतेदेखि बिहानी सत्रमा खोल्न मोर्चाले स्वीकृति दिएको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन मोरङ अध्यक्ष टीकाराम ढकाल भन्नुहुन्छ, “यहाँका आन्दोलनरत साथीहरु आन्दोलनमा घुसपैठ हुने भन्दै मान्नु भएन ।” तोडफोड भए आन्दोलनकारीले जिम्मा नलिने भनेपछि बस सञ्चालन गर्न नसकेको ढकाल बताउनुहुन्छ ।






