धादिङ- धादिङको गजुरीस्थित फुर्के खोलामा गएराति त्रिशुली नदी किनारमा कार खस्दा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।
दुर्घटनामा सिन्धुपाल्चोक, कालिका–७ का २८ बर्षीय सुनिल खत्रीको मृत्यु भएको हो । उनको उपचारको क्रममा गजुरी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
सोही दुर्घटनामा कार चालकसहित ४ जना घाइते भएका छन् । उनीहरुको सोही अस्पताल मै उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये कार चालक ललितपुर भैसेपाटीका २८ बर्षीय दिवस लिम्बुको अबस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार गएराति सवा ९ बजे बा१२च १२९ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मीटर तल त्रिशुली नदीको किनारमा खसेको थियो ।






