लन्डन (बेलायत)- सयौँको सङ्ख्यामा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको टेन डाउनिङ अफिस अगाडि भेला भएका बेलायती नागरिकले सिरियामा बेलायती सैनिक पठाउनु नहुने भन्दै शनिबार प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री कार्यालय बाहिर उपस्थित प्रदर्शनकारीले बेलायती सांसदहरुलाई सिरियामा इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा बेलायत सहभागी हुन नहुने जनाउँदै ‘सिरियामा सैन्य कारबाही नगर’ भन्ने नारा लगाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बेलायतको राजधानी लन्डनबाहेकका अन्य सहरमा समेत ठूलो सङ्ख्यामा बेलायती नागरिकले क्यामरुनको बेलायती सेनालाई अमेरिका नेतृत्वको आइएस विरोधी अभियानमा सहभागी गराउने कार्यक्रमको विरोध गर्दै प्रदर्शन गरेको समाचार छ ।
बेलायती रोयल एअर फोर्सले आइएस विरोधी अमेरिका नेतृत्वको अभियानमा आइएस लडाकुविरुद्ध इराकमा संयुक्त सैन्य कारबाहीमा सहयोग गर्दै आएको छ ।
गएको बिहीबार बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आइएसविरुद्धको बेलायती कारबाही सिरियामा समेत विस्तार गर्नुपर्ने बताउनुभएपछि सो निर्णयको बेलायतमा विरोध गर्दै प्रदर्शनमा उत्रेका हुन् ।
तर बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भन्नुभयो – “आतङ्कवाद विरुद्धको लडाईं सफलताका लागि आइएस समूहको प्रभाव क्षेत्र मानिएको सिरियामा आक्रमण गर्नुपर्छ ।” सरकारले यसै सिलसिलामा बेलायती संसद्मा आइएसविरुद्धको सैन्य कारबाहीलाई विस्तार गर्न संसद्बाट प्रस्ताव पारित गर्नका लागि सांसद सदस्यहरुलाई अनुरोध गरेको छ ।
यस सम्बन्धमा आगामी हप्ता बेलायती संसद्मा मतदान हुनेछ तर बेलायतको प्रमुख प्रतिपक्षी ल्यावर पार्टीमा यस विषयलाई लिएर गम्भीर मतभेद देखिएको छ ।
प्रतिपक्षी पार्टीका एक नेता जेरेमी कर्विनले सिरियामा गरिने भनिएको हवाई आक्रमणविरुद्ध आफूले मतदान गर्ने बताउनुभएको छ भने केही संसद् सदस्यले कारबाही विस्तार गर्नुपर्नेमा सहमत रहेका छन् ।






