राजदूत रन्जित रे र दीपकुमार उपाध्यायलाई निलम्बन गर्नुपर्छ

भद्र सहमति रातारात तोडिएपछि नेपाली कांग्रेस अहिले प्रतिपक्षमा छ । राष्ट्रिय राजनीतिमा कांग्रेस शीर्ष नेतृत्वले लिएको नीति कांग्रेसीहरुलाई नै चित्त बुझेको छैन । प्रधानमन्त्रीमा सभापति सुशील कोइरालालाई उठाएर अदूरदर्शी, अपरिपक्व व्यवहार देखाएको केन्द्रीय नेताहरुकै विश्लेषण छ । भारतीय नाकाबन्दी, समस्या समाधानको उपाय, कांग्रेसको १३ औँ महाधिवेशनपछिको नेतृत्व लगायतको विषयमा कांग्रेस केन्द्रीय सदस्य, पाका नेता एवं सांसद सूर्यमान गुरुङसँग गरेको कुराकानीः

Suryaman Gurung
नाकाबन्दीका कारण अत्यावश्यक वस्तुको समेत अभाव भइसकेको छ । तपाईले कसरी हेरिरहनुभएको छ ?
महायुद्धको बेलामा मात्र यस्तो स्थिति आएको थियो । अन्तर्राष्ट्रिय सन्धी, महासन्धीको पनि उलंघन भएको छ । मानिसलाई मृत्युदण्ड दिँदा पनि एक पटक झुण्ड्याएर मरेन भने फेरि झुण्ड्याउनु हुँदैन भन्छन । तर जसरी हुन्छ नेपालको अस्तित्व नै नरहने किसिमले भारतीयहरु अगाडि बढेको देखिन्छ । अहिलेसम्मको मित्रता, समझदारी, कुटनीति सवैलाई लत्याएर भारतले अप्ठ्यारो स्थिति पारिदिएको छ । दशै, तिहार पनि राम्रोसँग मान्न सकिएन । छठ पर्व पनि अप्ठ्यारोमा मनाउँदैछौँ । अहिलेमात्र होइन, विगतमा पनि भारतले यस्तै व्यवहार देखाउँदै आएको छ । तत्कालिन अवस्थामा भारतीय व्यवहारको वीपी कोइरालाले पनि कडा प्रतिवाद गर्नुभएको थियो । २०१७ साल पुस १ गतेको काण्ड भारतीयले नै गराएको समेत उहाँले भन्नुभयो । तत्कालिन भारतीय विदेशमन्त्री दिनेश सिंह नेपाल आएको बेला नेपाल र भारतबीचको सम्बन्ध भूगोल, धर्म र संस्कृतिले सधैँ अटल रहन्छ भने । त्यसको प्रतिक्रिया दिँदै वीपीले भन्नुभएको थियो–विदेश सम्बन्ध त्यसरी धर्म, संस्कृति र भूगोलले निर्धारित हुने होइन, कुन देशमा सरकार कस्तो प्रकृतिको छ, त्यसमा निर्भर गर्छ । उदाहरणको लागि चीन र भारतको सम्बन्ध अहिले खराव छ । त्यो सम्बन्ध भोलि दिल्लीको शासन फेरिदा अर्कै बन्न सक्छ । अहिले त्यही स्थिति आएको छ । अहिले भारतीय शासनमा गुजरातमा थुप्रै मान्छे मारेर आएका मोदी छन । मानवअधिकार उलंघन गरेको भन्दै मोदीलाई विदेश जान भिषा समेत नदिएको अवस्था थियो ।
अर्कोतर्फ भारतसँग कुरा गर्न विदेशमन्त्रीको हिसावले कमल थापालाई पठाउनु स्वभाविक थियो । तर उनले इमान्दारीपूर्वक कुरा राखे कि राखेनन् भन्नेमा मलाई शंका छ । हिन्दु धर्म र राजा मान्ने भएकाले मोदी र कमल थापाको सालनालको कुरा जोडिएको छ । त्यसकारण नेपालको कुरा ठीक ढंगले प्रस्तुत गरेनन भन्ने मलाई लाग्छ ।

सम्बन्ध सुधार त गर्नैपर्छ नि हैन ?
भारतको हेपाह प्रवृति कायमै रह्यो भने बरु हामी मर्न तयार हुनुपर्छ । त्यस्तो प्रवृति सहेर बस्नु हुँदैन । भारतीयहरु कुटनीतिक मर्यादाबाट पर हटिसके । अन्तर्राष्ट्रिय सन्धी, महासन्धीको विषयमा उनीहरुले वास्ता नै गरेका छैनन । हामीले हाम्रो संविधान लेखेका हौँ । हाम्रो संविधान भारतको निर्देशनमा लेख्ने होइन । धर्म निरपेक्षताको विषयमा किन व्याख्या आवश्यक प¥यो ? अहिले नहुने कुराहरु धेरै भइराखेका छन । राजीव गान्धीको पालामा भएको नाकाबन्दी यतिको साह्रो थिएन । उनले त घोषित नाकाबन्दी गरेका थिए । तर मोदीले त नबोलिनबोली हाम्रो अस्तित्वलाई समाप्त पार्न खोजेको भान हुन्छ ।

अहिले भारतीय राजदूतको सक्रियता निकै बढेको देखिन्छ तर नेपाली राजदूतको अत्तोपत्तो नै छैन । यस्तो किन हुन्छ ?
अहिले दुवै राजदूत (भारतीय राजदूत रन्जित रे र नेपाली राजदूत दीपकुमार उपाध्याय) लाई निलम्बन गरिनुपर्छ । यिनीहरुको कुटनीतिक जिम्मेवारी के हो त ? यिनीहरुको काम तलव भत्ता खाएर बस्ने मात्र त होइन नि ? रे एकपक्षीय रुपमा लागेको देखिन्छ । हाम्रो दीपकुमार उपाध्याय त लाटोकोसेरो जस्तो भएर बसेका छन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटामा राजदूत भएको व्यक्तिलाई फिर्ता बोलाउँदा राजनीतिक रुपमा तरंग पैदा होला नि ?
केही तरंग पैदा हुँदैन । कांग्रेसको कोटाबाट राजदूत भएपनि कार्यशैली चित्त बुझेन भने हामी पनि त कुरा बुझ्छौँ नि । अहिले मेरो पक्ष र अर्को पक्ष भन्ने बेला होइन । कुटनीतिक रुपमा आफ्नो जिम्मेवारी निभाउन सक्नुपर्छ । उहाँले सक्रियताको साथ काम गर्नुभएको छ भन्ने मलाई थाहा छैन । महामहिम राजदूत भन्दा नाक फुलाएर बस्ने कुरा अर्कै भयो । तर आफ्नो जिम्मेवारी निभाउन सक्नुपर्छ । त्यो देखिएन । २००७ साल पछाडि नेपालमा भारतीय राजदूत…सिंह आएका थिए । उनी मन्त्रिपरिषदको बैठकमा आफैँ जान्थे । निर्णयहरु अंग्रेजीमा लेख्न लगाउथे । नेपालीमा नबुझ्ने भएकाले अंग्रेजीमा निर्णय लेख्न लगाएको रहेछ ।  पछि बल्ल त्यो कुरा थाहा भयो ।
वीपी कोइरालालाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीले थियो । भारतले वीपीले भनेको सुन्दैन, मात्रिकाले सुन्छ भन्नेर मात्रिकालाई प्रधानमन्त्री बनाइदिए । मन्त्री कसलाई बनाउने, कसलाई हटाउने सवै भारतकै निर्देशनमा हुने गरेको इतिहास छ । त्यस्तो बेलामा वीपीले राजदूत हटाइएन भने राम्रो हुँदैन भनेपछि सिंहलाई फिर्ता बोलाएर भारतले नयाँ राजदूत पठाएको थियो । त्यसपछि बल्ल अलि सुधार आएको हो ।

भनेपछि अहिले पनि नेपाल सरकारले रन्जित रेलाई फिर्ता लैजाउ भनेर भारत सरकारलाई औपचारिक पत्र लेख्नुप¥यो ?
त्यतिमात्र होइन, तिमी जाउ भनेर भन्न सक्नुपर्छ । ओभर नै भएर राष्ट्रपतिदेखि अन्य नेताहरुसँग भेटघाट गरिरहेका छन । अरु देशका पनि राजदूत छन नि । तर उनीहरुले त्यसो गरेका छैनन । त्यसकारण रन्जित रेबाट हामी सतर्क रहनुपर्ने हो कि होइन ? मोदीले यतिछिटै आफ्नो रुप यसरी परिवर्तन गर्लान भन्ने त हामीले सोचेका थिएनौँ । रे भारत गएर आएपछि नेपालमा एउटा न एउटा बिगार भएकै हुन्छ । यही अवस्थामा बस्नु भन्दा त अस्तित्वका लागि भएपनि हामीले भिड्नुपर्ने अवस्था आइसक्यो । भारतले अक्षम्य अपराध गरेको छ ।

विभाजित भएर नेपाली दलहरुले पनि गल्ती गरेकै हुन नि हैन ?
म त अहिलेपनि सहमतिकै पक्षमा छु । नयाँ संविधानको कार्यान्वयन पक्ष बाँकी नै छ । संविधान बनाउन लागिपरेका दलहरु कार्यान्वयनका लागि एकजुट हुनैपथ्र्यो । तर ठूलै चलखेलका कारण त्यो सम्भव भएन ।  गिरिजाबाबुले भनेजस्तै यहाँ ‘ग्राण्ड डिजाइन’ छ ।

‘ग्राण्ड डिजाइन’ कसले रचेको ?
यसमा भनिसाध्य नै छैन ।  सवै ओपन सेक्रेट नै छ ।

सुशील कोइराला र केपी ओली प्रधानमन्त्रीको उम्मेदवार भए । ओलीलाई नेपालको प्रतिनिधि र कोइरालालाई भारतको भनेर समेत चित्रित भयो नि ?
त्यही त नहुने कुरा भयो । सुशील कोइरालालाई भारतको प्रतिनिधिको रुपमा चित्रित गर्नु राम्रो भएन । त्यो मलाई पत्यार लागेको छैन । अव बिनासकाले विपरित बुद्धि भयो । मैले पार्टी ह्वीप मानेर नै भोट हाल्नुप¥यो । म ओखलढुंगाको कार्यक्रममा प्रमुख अतिथिको रुपमा गएको थिएँ । मलाई बोलाइयो । संसद भवनमा पुग्दा त सुशील कोइराला उम्मेदवार, शेरबहादुर देउवा प्रस्तावक, रामचन्द्र पौडेल समर्थक । नयाँ परिवर्तन भएछ भन्ने लाग्यो । त्यतिबेला नै सभासदहरुले मलाई भने–सुशील दाईले के गर्नुभएको ? हामी त फस्यौँ । सुशीलजीले उम्मेदवारी नदिनुपर्ने हो । केही परिवर्तन भएछ कि भनेर मैले भनेँ । पछि बुझ्दा त कुरा जस्ताको तस्तै छ । त्यो कुरा मैले पछि सुशीलजीलाई पनि भनेँ ।

प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायत सवै पदबाट कांग्रेसले हात धुनुपर्ने अवस्था आउनुको जिम्मेवारी कसले लिनुपर्छ ?
जो नेतृत्वमा छ उसैले लिनुपर्छ ।

भनेपछि सुशील कोइरालाकै काँधमा आयो ?
हुन त भोट दिने हामी । त्यसैले हामीपनि जिम्मेवारीबाट अलग छौँ भन्न त मिल्दैन । तर यो निर्णय अदूरदर्शी, अपरिपक्व, कमजोरीको के के भन्नुपर्छ सवै भएको छ । त्यसको जिम्मेवारी मूल नेतृत्वले लिनुपर्छ । नेता बन्ने क्षमता नै छैन भने किन नेतृत्व लिने ? यहाँ साह्रै ठूलो कमजोरी भएको छ । ओलीजीको बोलीमा गाम्भीर्यता नभएको र सुशीलजी नबोलेरै बिताउने । यसकारण यि दुवै उपयुक्त थिएनन । यो मुलुकलाई कहाँ लैजान लागे अचम्म छ । राजा चाहिन्छ, हिन्दु धर्म चाहिन्छ भन्नेलाई नेपालको प्रतिनिधि बनाएर कुरा गर्न भारत पठाएपछि ओली चाहिँ कता गए नि ? संघीयता हुनैहुँदैन भन्नेहरु पनि अहिले उपप्रधानमन्त्री भएका छन ।

कांग्रेस, एमाले र एमाओवादी मिलेर अगाडि बढेको भए त यस्तो अवस्था नै आउने थिएन होला नि ?
त्यसमा त दुई मत नै छैन । सांसद र केन्द्रीय सदस्यको हैसियतले म आफैँ पनि जिम्मेवारी लिइरहेको छु । हामी गम्भीर रुपमा फसिसकेका छौँ । यसलाई कसरी ट्याकमा ल्याउने भन्नेमा हामी लाग्नुपर्छ ।

१३ औँ महाधिवेशनबाट कांग्रेसको मूल नेतृत्वमा कसलाई ल्याउने तयारी भइरहेको छ ?
पहिला त सुशीलजी निर्विकल्प नै हुनुहुन्थ्यो । अव चाहिँ सोच्नुपर्ने हो कि भन्ने चर्चा हामीहरुबीचमा चलेको छ । फेरि नेता बन्न नेतृत्व क्षमता पनि हुनुप¥यो । शेरबहादुरजी पनि दावेदार नै होलान । रामचन्द्रजीले त गुनासै गर्नुभो । आफैँ प्रस्तावक र समर्थक छन, अनि फेरि आफैँ रोक्न खोजेकाले भन्छन । त्यतिबेलासम्म नेता पाइएला ।

भनेपछि सुशील र शेरबहादुर दुवैको विकल्प खोजी भइरहेको छ ?
सल्लाह चाहिँ गर्दैछौँ । परिस्थिति के हुन्छ ।

कांग्रेसमा आजको मितिसम्म पनि ६० र ४० चलिरहेको छ । ६०–४० लाई समिश्रण गर्ने गरी तेस्रो नेताको खोजी हुँदैछ ?
तेस्रो नेताको खोजी त गरेको हो । तर भन्ने वितिकै कहाँ पाइदोरहेछ र !