लन्डन ।
बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा नेपालीहरुले प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदी तीन दिने भ्रमणका क्रममा बिहीबार लण्डन पुगेका हुन् । उनको विरोधमा नेपालीहरुले प्रदर्शन गरेका छन् ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै बेलायतमा बस्दै आएका नेपालीहरुले प्रदर्शन गरेका हुन् । नेपालीहरुले बेलायती प्रधानमन्त्रीको कार्यालय नजिकै रिचमण्ड टेरेसमा मोदीविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सात सयभन्दा बढी नेपाली सहभागी भएका छन् ।प्रदर्शनमा सहभागीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा तथा प्ले कार्ड बोकेका थिए । लण्डनमा नेपालीहरुको यो अहिलेसम्मकै ठूलो प्रदर्शनमा मानिएको छ ।
प्रदर्शनका लागि गैर आवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मञ्च यूके, नेपाली जनसम्पर्क समिति, बेलायतसहित यूकेका प्रमुख तीन दर्जन बढि नेपाली संघसंस्थाले ऐक्यवद्धता जनाउंदै सहभागिता जनाएका थिए । तीन युवा विज्ञान प्रसाईं, एभरेष्ट गौतम र गणेश खड्काले प्रदर्शनको तयारीमा विशेष सक्रियता देखाएपछि अन्य संघसंस्था र युवाहरु स्वतस्फूर्त सहभागी भएका थिए ।
भारतको अघोषित नाकाबन्दी र भूपरिवेष्ठत राष्ट्र नेपालले अन्तर्राष्ट्रिय कानुन अनुसार पाउने पारवहान सुविधाका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।
राष्ट्रमाथि ठूलो चुनौती आइपरेका बेला व्यक्तिगत तथा संस्थागत स्वार्थभन्दा माथि उठेर सबैले सामना गर्नुपर्ने बेला आएको जनाउंदै भेलाका सहभागीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए ।
उनीहरुले नेपाल सरकारलाई भारतको गैर कानुनी नाकाबन्दी विरुद्ध अन्तर्राष्टिय निकाय गुहार्न समेत आग्रह गरेका छन् । अन्तर्राष्टिय कानुन अनुसार नेपालको पारवहन अधिकार हनन गरेको ठानेका प्रदर्शनकारीले नेपालमाथि हस्तक्षेप नगर्न नारा मार्फत पटक पटक चेतावनी दिएका थिए ।






