जापानलाई चीनको अनुरोध

जापानलाई चीनले नयाँ रक्षामन्त्रीको नियुक्तिसँगै दुई देशबीचको विवाद समाधानका पक्षमा पहलगर्न अनुरोध गरेको छ । प्राप्त समाचारमा चीनले हालैका दिनमा यी दुई देशबीच सीमा, दोस्रो विश्वयुद्धताका भएका ज्यादतीका घटनालगायतका क्षेत्रमा विवाद परिरहेकोले यी क्षेत्रमा बढ्दो विवादलाई कमगर्ने पक्षमा पहल थाल्न आग्रह गरेको हो ।
जापानले नयाँ रक्षामन्त्रीको नियुक्ति गरेसँगै सो विषयमा अनुरोध भएको समाचारमा जनाइएको छ । जापानी प्रधानमन्त्री सिन्जो अबेले हालैमात्र नयाँ रक्षामन्त्रीको नियुक्ति गर्नुभएको थियो । यसै अवसरमा चिनियाँ अधिकारीहरूबाट यो प्रतिक्रिया आएको हो ।
जापानी प्रधानमन्त्री सिन्जो अबे दोस्रो पटक हिजोमात्र नयाँ प्रधानमन्त्रीका रूपमा चयन हुनुभएको थियो । उहाँले नयाँ मन्त्रिमण्डल गठन गर्नुभएको छ । सो मन्त्रिमण्डलमा प्रधानमन्त्री अबेले बुधबारै जनरल नाकातानीलाई रक्षामन्त्रीमा नियुक्त
गर्नुभएको हो । ५७ वर्षीय जनरल नाकातानीको नियुक्तिसँगै चीनले यो आग्रह गरेको हो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बिहीबार भनेका छन्– हामी जापानसँग शान्तिपूर्ण सम्बन्धको विकास चाहन्छौं र त्यसको तयारी र सुरुवात जापानले गरोस् । हालैका दिनमा यी दुई देशबीच सीमा र दोस्रो विश्वयुद्धका समयमा भएको ज्यादतिजस्ता विषयमा विवाद सुरु भएको छ ।
जसका कारण केही समययतादेखि एक अर्काे देशका विरुद्ध जुलुस निकाल्ने र विरोध गर्नेजस्ता कामहरू हुँदै आएका छन् ।