नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहित केन्द्रीय नेताले पार्टी एकताबद्ध भएको दाबी गरे पनि सर्लाही जिल्ला नेतृत्वका लागि भने नवौँ महाधिवेशनकै दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । सर्लाही जिल्ला अधिवेशनअन्तर्गत बन्दसत्रको दोस्रो दिन आज नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको छ । सर्वसम्मत हुन नसकेपछि अध्यक्ष ओली पक्ष तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल एवम् झलनाथ खनाल पक्षबीच निर्वाचनबाटै जिल्ला नेतृत्व चयनको प्रक्रिया अगाडि बढाइएको हो ।
ओली पक्षबाट वर्तमान कार्यवाहक जिल्ला अध्यक्ष डिल्लीप्रसाद उप्रेतीको नेतृत्वमा तथा नेपाल–खनाल पक्षबाट पूर्वजिल्ला संंयोजक रेवती पन्तको नेतृत्वमा उम्मेदवारी मनोनय धमाधम दर्ता भइरहेको छ । नेता तथा कार्यकर्ताहरु आ–आप्mनो पक्षको प्रचारप्रसार एवम् भोट माग्न थालिसकेका छन् ।
उम्मेदवारी फिर्ता, दाबी विरोधलगायत निर्वाचनका कार्यक्रम आज राति ८ बजेसम्म सकिने र भोलि बिहानबाट मतदान सुरु गराउने तयारीका साथ प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिले जनाएको छ । निवार्चन कमिटीका सदस्य दधिराम पौडेलले उम्मेदवारको मनोनयन पत्र दर्ता गराउने काम भइरहेको बताउनुभयो । जिल्ला नेतृत्व चयनका लागि ४५६ जना प्रतिनिधिले मताधिकार प्रयोग गर्दैछन् ।
एमाले सर्लाहीमा दुई गुट भिड्दै






