अब चीनसँग व्यवसायिक कारोबार : मन्त्री पुन

Interview with Commerce Minister Ganesh Man Pun at the Ministry of Commerce in Singhadurbar, Kathmandu on Sunday. PHOTO/SKANDA GAUTAM
काठमाडौं, कार्तिक १८ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले चीनसँग पेट्रोलियम पदार्थको व्यवसायिक कारोबार गर्न प्रक्रिया अगाडि बढेको बताएका छन् ।

एउटै बजार अर्थात् भारतसँग मात्र भर पर्दा मुलुकले हालको अवस्था भोग्नुपरेको भन्दै उनले चीनसँग पनि कारोबार गर्न सरकारले प्रक्रिया अगाडि बढाएको बताएका हुन् ।

केन्द्रीय गलैचा उद्योग संघले बुधबार बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री पुनले नेपाल आयल निगमले हालै चीनको पेट्रोलियम कम्पनी पेट्रो चाइनासँग गरेको सम्झौता निगमको बोर्ड बैठकले पारित गरी थप प्रक्रिया अगाडि बढाउन भनेको जानकारी गराए ।

संघले गलैचा उद्योगको विकास एवं संरक्षणका लागि पटक–पटक गरिएको आग्रह सरकारले नसुनेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष छिरिङ शेर्पाले अन्तर्राष्ट्रिय बजारमा प्रख्यात नेपाली गलैचाको प्रबद्र्धनमा सरकारको सहयोग आवश्यक रहेको बताए ।

संघले गलैचा उद्योगको दीगो विकासको लागि गलैचामा प्रयोग गरिने ऊन स्वदेशभित्रै उत्पादन गर्न भेडापालनको आवश्यक व्यवस्था गर्नुपर्नेसहितको १७ बुँदे माग पेश गरेको छ ।

गत वर्ष ७ अर्ब बढीको नेपाली गलैचा तेस्रो मुलुक निर्यात् भएको संघले जनाएको छ । मजदुर र कच्चा पदार्थको अभाव नै नेपाली गलैचा उद्योगको प्रमुख समस्या रहेको महासचिव निमा शेर्पाले बताए ।