
इतिहास रच्नु ठूलो कुरा होइन । इतिहास त कोत पर्वले पनि रच्यो । भण्डारखाल पर्वले पनि रच्यो । दरबार हत्याकाण्डले पनि रच्यो । राजेन्द्रलक्ष्मीको पनि इतिहास रचियो । फरक यत्ती हो इतिहास कस्तो रचिएला ? आज नेपालको इतिहास खोतल्दा र पल्टाउँदा साच्चै गौरव गर्ने दिन छ । राष्ट्रपति महिला, सभामुख महिला । हिजो चुलो चौकोमा मात्र सीमित रहने महिला आज राष्ट्रको जिम्मेवारी पदमा पुग्दा महिला मात्र होइन पुरुषहरूमा पनि खुसीको सीमाना छैन । इतिहासको पानामा सुनौला अक्षरले पहिलो महिला राष्ट्रपति र सभामुख भनेर लेखिने छ । सामान्य ज्ञानमा भोलिको पुस्ताले रटीरटी कण्ठ गर्नेछन् । आज महिला हामी पछाडि प¥यौँ । हामीलाई कुनै जिम्मेवारी पद दिइदैन भनी ठूला र चर्का आवाज निकाल्ने हामी सम्पूर्ण महिला, देशमा दिपावली गरौँ किनकि देशको प्रमुख स्थानमा महिला पुग्नु भएको छ ।
हुन त त्यही सभामा महिला सांसदले महिलालाई नै भोट नदिएको इतिहास पनि साक्षी छ । त्यसैले यहाँ महिला भन्दा आफ्नो पार्टीलाई हेरेर व्यवहार गरिन्छ तर भाषणमा महिला आवाज मात्र आउने गर्छ यो कसैले बताउन र लुकाउन पर्ने कुरा नै होइन । लिङ्गीय कुरा अजसरवादी भएर बोल्छौँ । कहिले काहीँ लाग्छ हामी पर्दा अगाडि छौँ र पर्दा पछाडिबाट अदृश्य रुपमा जता तान्यो उतै तानिन्छौँ ।
महिला राष्ट्रपति बन्दा राष्ट्रपतिलाई मात्र होइन यो देशका हरेक महिलामा शुभकामनाको ओइरो लागेको छ । तर यस अगाडि दुई चार जना महिला उच्च पदमा पुग्दा कमाएको ख्याति कस्तो छ ? भ्रष्टाचार, नातावाद यस्तै यस्तै । त्यसैले पदमा पुग्नु भन्दा पनि काम कस्तो भन्ने ठूलो कुरा रहन्छ । यदि नाफा र घाटाको जोडघटाउमा यो पदमा पुग्नु भएको हो भने एक औस पनि खुसीयाली छैन । फेरि महिला राष्ट्रपति भएपछि अब जीउँदै बुहारी जल्नु पर्दैन, छोरीले अधिकार पाउँछे, अबोध बालिकाको अस्मिता लुटिदैन आदि आदि आम जनताको अपेक्षा पनि होला । तर राष्ट्रपति कार्यकारी नभएर सेरेमोनियल हो भन्ने कुरा पनि बुझ्नै पर्छ । राष्ट्रपति जस्तो भए पनि जिम्मेबारी र दायित्व हुन्छ नै त्यसलाई भुल्नु हुँदैन । जे भए पनि महिला राष्ट्रपति र सभामुख पाएकोमा गौरव गर्नै पर्छ ।
आज ओनसरी घर्ती सभामुख हुँदा नपढेकाले के गर्छन ? भन्ने आवाज पनि आइरहेको छ । राजनीतिमा शिक्षाले मात्र पनि काम गर्दो रहेनछ भन्ने कुरा पहिलो संविधान सभाको विघटन र सबैको सहयोगमा मात्र काम पुरा गर्न सकिन्छ भन्ने कुरा नयाँ संविधान निर्माणले बताएको छ । त्यसैले नेपाली उखान एक थुकी सुकी सय थुकी नदीलाई बुझ्नुपर्छ ।
हुन त महिला जहाँ पुगे पनि र जुन पोष्टमा पुगे पनि कताकता पधेर्नीपनले छोडेको छैन कि जस्तो लाग्छ । आफ्नो विचार र व्यवहारमा माथि उठ्न नसकेको अनुभूति हुन्छ । महिला घरमा जादाँ बुहारी र सासु बन्नु पर्ने भएर होला, अन्य ठाउँमा पनि त्यो व्यवहार देखिने गरेको । त्यसैगरी इतिहास हेर्दा पनि महारानी राजेन्द्र लक्ष्मीदेवीले शक्ति पाएपछि कोत पर्व मच्चाइन् , झड्केलो छोरो मार्न तयार भइन । हो, सामान्य घरव्यवहारमा पनि सासुले बुहारी र बुहारीले सासुमाथि न्याय गर्न सकेका छैनन् । यो सोचबाट माथि उठ्न सक्नुपर्छ । अर्कोतिर महिला यति ठूलो पदमा पुगेको बेला देशमा इन्धनको अभावले जनताको चुलोमा आगो बल्न नसकेको अवस्था छ । यो चुनौतिपूर्ण अवस्थामा आजको पद भन्दा भोलिको कामले गौरब गर्नुपर्ने हुन्छ ।
अब महिला पनि यो पदमा पुगेपछि पार्टीगत गालीगलौज होला तर महिला भनेर पुरुषले र पुरुष भनेर महिलाले गाली गर्ने प्रवृत्तिको अन्त्य होस् । आज समयले जसलाई जहाँ पु¥याएको छ महिला चुलोचौकोमा मात्र सीमित हुने होइन अब छोरी पनि राष्ट्रपति बन्न सक्छन् भन्दै गर्भ परीक्षण गरेर छोरीको भ्रुण हत्या गर्नेहरूको समेत भाषण बन्द गर्ने अवस्था र जसरी आज एउटी महिला उच्च पदमा पुग्दा आम नेपाली महिला खुसी र उत्साहित छन त्यसैगरी भोलि पदको दुरुपयोग भयो भनेर सम्पूर्ण महिलाले शिर झुकाउने दिन नआओस्, शुभकामना ।






