लन्डन । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकका फोटो पत्रकार हरिमान गुरुङ बेपत्ता भएको दुई दिन पछि मृत अवस्थामा फेला परेका छन् । पत्रिकाका मार्केटिङ म्यानेजर ज्ञाम गुरुङका अनुसार उनको मृत शरीर सोमबार दिउँसो हुक र बेजिङस्टोक बीच पर्ने जंगलमा भेटिएको हो । गुरुङ अनुसार उनको मृत्यूको कारण भने पत्ता लागि सकेको छैन्।
शनिवार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा वडा नम्बर ६ फिल्म हेरेर राती ९.४५ तिर हलबाट निस्किएका उनी त्यसयता सम्पर्कमा नआएपछि परिवारले आइतबार अल्डरसट प्रहरीमा उजुरी गरेको थियो ।
शव भेटिएपछि खोजीकर्ताले तत्काल प्रहरी र घर परिवारलाई खवर गरेका थिए । त्यसलगत्तै प्रहरीका तीनवटा गाडी गएर अनुसन्धान थालेको र पोष्टमोर्टमपछि मृत्युको वास्तविक कारण थाहा हुने जनाइएको छ । उनको गाडी हुक र बेजिङस्टोक जाने बाटोको जंगलमा भेटिएको थियो । गाडीभित्र क्यामेरा पनि थियो । गाडी पार्क भइरहेको ठाउंबाट एकसय मिटर पर शव फेला परेको समाचारमा उल्लेख छ ।
उनी घुंडा टेकेको अवस्थामा रहेछन् । घांटीमा रसी भएपनि झुण्डिएको अवस्थामा थिएनन् । नजिक रुख पनि छैन् र हतियार पनि । शरीर मैदानमा लडेको रहेछ’, आश्चर्यजनक मृत्युबारे धम्पुस परिवार यूके महासचिव गुरुङले भने ।
गुरुङको देहवसानले परिवार र साथीभाई चिन्तित छन् ।श्रीमति सुनिता गुरुङ र दुई छोरीका साथ अल्डसरमा आफ्नो परिवारसहित बेलायतमा बसोबास गर्दै आएका गुरुङको कार बेजिङस्टक जाने बाटोमा शंकास्पद अवस्थामा फेला परेको थियो ।







