लन्डन, कार्तिक ८ । बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इराक युद्धपछिको योजनामा भएको जासुसी ‘गल्ती’ का लागि माफी मागेका छन् । यद्यपी उनले इराक युद्धमा सामेल हुने आफ्नो तत्कालिन निर्णयको बचाउ गरेका छन् ।
अमेरिकी टेलिभिजन च्यानल सिएनएनसँग कुरा गर्दै ब्लेयरले यद्धकै कारण तथाकथित इस्लामिक स्टेट (आइएस) को उदय भएको दाबीमा केही सत्यता रहेको समेत बताएका छन् । तर उनले सद्दाम हुसेनलाई सत्ताबाट हटाइएको विषयमा माफी माग्न नसकिने प्रष्ट पारे ।
ब्लेयरले भने, ‘सद्दामलाई सत्ताबाट नहटाइएको भए इराक आजको लिबियाजस्तै हुन्थ्यो ।’
केही आलोचकले इराक युद्धमा ब्लेयरको निती असफल भएको आरोप लगाइरहेको समयमा ब्लेयरले भने, ‘यदि इराकमा मेरो नीति असफल भएको भन्ने हो भने त्यसपछिका नीति पनि सफल भएको छैन ।’
‘इराकमाथि हमला नगरेको भए त्यहाँ गृहयुद्ध हुने खतरा रहन्थ्यो,’ उनले भने, ‘तर हामीलाई गुप्तचरमार्फत प्राप्त जानकारी गलत भएकोमा म माफी माग्छु ।’
इराक युद्धमा बेलायत सहभागी भएको विषयमा छानविन गर्न सर जोन चिल्कटको नेतृत्वमा गठित छानविन समितिले इराक युद्धबारे छानविन गरिरहेकै समयमा पूर्व प्रधानमन्त्री ब्लेयरको यस्तो भनाई सार्वजनिक भएको हो ।
सो समितिले प्रतिवेदन जारी गर्ने समयसीमा प्रकाशमा आइसकेको छैन तर ६ वर्षअघि तत्कालिन प्रधानमन्त्री गोर्डन ब्राउनले छानविन आरम्भ गराउँदै एक वर्षभित्र प्रतिवेदन आउने जनाएका थिए । (एजेन्सी)







