भोलि मन्त्रिमण्डल बिस्तार हुने

काठमाडौं , २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबारसम्ममा मन्त्रीमण्डलको विस्तार गरिसक्ने बताएका छन्। बुधबारको संसद बैठकमा सहभागी भएर बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भोलि नै मन्त्रिमण्डल विस्तार हुने बताएका हुन्। उनले संक्षिप्त जवाफ दिँदै भने,‘भोली हुन्छ।’

सत्ताको भागवण्डाबारे सत्तासाझेदार दलसँग मन्त्रालयको भागवण्डाको विषयमा टुंगो लागिसकेपनि दलहरुबीच को मन्त्री बन्ने र बनाउने भन्ने विषयमा विवाद भएकोले सरकार विस्तारमा कठिनाइ परेको सरकारमा सहभागी एक दलका नेताले बताए।

त्यसैगरी निर्वमान प्रधानमन्त्री सुशील कोइरालाले सरकारको नेतृत्व लिनेदेखि सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा सहमतिको कुरा गरी लोकतान्त्रिक पद्धति नविर्सन आग्रह गरेका छन्।

संसदको बैठकमा भाग लिएर बाहिरिने क्रममा विगतको सत्ताको बागडोर लिंदा पत्रकारसँग झर्किने गरेका कोइरालाले सत्ताबाट बाहिरिएपछि भने पत्रकारलाई देख्नासाथ मुस्कुराउँदै आएर उभिए। त्यसपछि पत्रकारले सोधे, ‘सभामुख, राष्ट्रपति लगायतका पदमा सहमतिका आधारमा चयन हुन्छ? जवाफमा कोइरालाले भने, ‘होइन सहमतिमात्रै भन्ने लोकतान्त्रिक पद्धति बिर्सने? लोकतन्त्रमा सहमतिमात्र हुँदैन स्वस्थ प्रतिस्पर्धा पनि हुन्छ र त्यसलाई पनि सहज रुपमा लिनुपर्छ।’