काठमाण्डाै २६ असाेज । अत्यावस्यक सवारी साधनलार्इ बाहेक काठमाण्डाैमा स्टक रहेकाे तेल सकिएकाे छ । मंगलबार नीजि सवारी साधनलार्इ तेल बाँडेपछि अत्यावस्यक कामकाे लागि बाहेक स्टक रहेकाे तेल सकिएकाे नेपाल अायल निगमले जनाएकाे छ । याे संगै निगमले निजी सवारी साधनलाई दसैँको टीकाअघि पेट्रोलियम पदार्थ दिन नसक्ने भएको छ। ‘हामीले मौज्दातमा रहेको र उपत्यका बाहिरका डिपोबाट ल्याएको ते
ल वितरण गरेपछि अव दसैँअघि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिन सकिने अवस्था छैन।’ निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘ निगमको मौज्दातमै तेल अत्यन्तै न्यून छ। त्यो अत्यावश्यक सेवा, सुरक्षा निकाय र सार्वजनिक यातायातलाई दिनुपर्ने मात्रै छ।’
निगमले दशैँलाई लक्षित गर्दै बाग्मती अञ्चलमा मंगलबार एक दिन निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण गरेको थियो। अहिले मुुलुकको असहज अवस्थामा पनि मौंज्दात भएको केही तेल वितरण गरेकाे उनले बताए । उनका अनुसार भारतबाट माग अनुसार तेल नआएकोले मौज्दात सकिने गरेर पेट्रोलियम पदार्थ वितरण गर्दा पछि समस्या आउनेछ। ‘हामी अझै पनि विश्वस्त हुन सकेका छैनौ । भारतले माग अनुसार तेल दिएन भने यहाँ अत्यावश्यक सवारी साधन र सेवा समेत समस्यामा पर्छ,’ भट्टराईले भने, ‘हामीले भएसम्म उपभोक्तालाई सहयोग गरिरहेका छौँ। उहाँहरुले पनि नेपालको अहिलेको प्रतिकुल अवस्थालाई बुझेर सहयोग गरिरहनुभएको छ । सरकार र जनताको सहकार्यले यस्तो असहज अवस्थालाई हामीले थेग्न सकेका छौँ।’ उनले अहिलेको असहज अवस्थामा सबै उपभोक्ताले धैर्य गर्नुपर्ने बताउँदै निजी सवारी साधनको प्रयोग कम गरेर भएपनि सहयोगको वातवरण बनाउन आग्रह गरे। ‘मुलुकका लागि यो कठिन समय हो । यो कठिन समयमा जनताले पनि केही गुमाउनुपरेको छ। तर यो कठिन समय पार गर्न सबैको सहयोग आवश्यक छ,’ उनले भने, ‘हामीले सबै उपभोक्तलाई तेल दिन चाहेका छौ तर परिस्थिति त्यस्तो छैन । यो अवस्थालाई सबैले बुझिदिनुहुन आग्रह गर्छौ।’
निगमले मंगलबार ६ लाख लिटर पेट्रोल वाग्मती अञ्चलमा वितरण गरेको थियो। गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमको शनिबार बसेको संयुक्त बैठकले निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ दिने निर्णय गरेको थियो। यो निर्णय अनुसार उपत्यकाका सबैजसो पेट्रोल बिक्री गर्ने पम्पलाई पेट्रोल दिइएको थियो । तर मागको एक तिहाई मात्रै पेट्रोल दिएपछि धेरै उपभोक्ता रित्तै फर्किनुपरेको छ। सरकारले पेट्रोलियम पदार्थ वितरण गर्ने जानकारी पाएपछि आइतबारदेखिनै उपभोक्ता लाइनमा बसेका थिए। उपत्यकाका पम्पमा पेट्रोल लिन लामो लाइन थियो। कतिपय पम्पमा पेट्रोलका लागि ठूलै युद्ध जस्तो भएको थियो। उपत्यकामा रहेका कतिपय पम्पले बिहानै कुपन बाँडेर तेल वितरणलाई व्यवस्थित बनाएका थिए। आफ्नो पम्पमा आएको तेलको परिमाण बराबरको कुपन बाँडेर अन्यलाई फर्काएका थिए। भारतको अघोषित नाकाबन्दीपछि पेट्रोलियम पदार्थ न्यून आएपछि निजी सवारी साधनलाई दिन रोकेको थियो । प्रधानमन्त्रीमा केपी ओली निर्वाचित भएपछि भारतले नाकाहरु केही खुकुलो पारेको थियो। नाका खुकुलो भएपछि पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु आए पनि पर्याप्त छैन। आइओसीले शनिबारदेखि केही सहज रुपमा पेट्रोलियम पदार्थ दिइहे पनि मंगलबार फेरि केही घटाएको छ। मंगलबार मुम्बईको आदेश भन्दै आइओसीको डिपो पुगेका ट्यांकर सबैलाई तेल दिएन। तर सबैभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिने वीरगञ्ज नाका अझै ठप्प छ। मुलुकमा खपत हुने पेट्रोलियम पदार्थमध्ये ७० प्रतिशत वीरगञ्ज नाकाबाटै भित्रिन्छ ।






