काठमाडौं – बुधबार दिँउसो साढे १ बजे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले एउटा कार्यक्रम हलबाट १६६००१७२०० नम्बरमा फोन गरे । उनले फोन गर्ने बित्तिकै एक महिलाको सुमधुर स्वर सुनियो । उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको टोल फ्री सेवामा स्वागत छ भन्दै आफ्ना समस्या तथा गुनासो सुनाउन आग्रह गरिन् ।
कार्यकारी अधिकृत पोखरेलले आफूले पहिलो किस्ता लिएर घरको जग हालेको तर प्राविधिकले हालसम्म अनुगमन पनि नगरेको र दोश्रो किस्ता पाउन समस्या परेको गुनासो गरे । गुनासो सुन्ने कर्मचारी प्रगति मानन्धरले उनको समस्या रेकर्ड भएको र प्राधिकरणलाई जानकारी गराउँदै भोलि प्राधिकरणबाटै फोन गरेर समस्याको उपाय बताउँने जवाफ फर्काइन् । धन्यबाद भन्दै कार्यकारी अधिकृतले फोन राखे ।
डा. पोखरेलले साँच्चै आफूलाई समस्या परेर फोन गरेका भने थिएनन् । बुधबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपीको आर्थिक तथा प्राधिविक सहयोगमा स्थापना गरिएको टोल फ्री सेवाको उनले यसरी शुरुवात गरेका थिए ।
यूएनडिपीको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुका जिज्ञासा एवम् गुनासाहरु सुन्ने र उनीहरुलाई पुनर्निर्माण र पुर्नस्थापना सम्बन्धी सूचनाहरुको जानकारी गराउने उद्देश्यले पैसा नलाग्ने टोल फ्री नम्बर सेवा शूरु गरेको हो ।
यो सेवाका लागि नेपाल टेलिकम र एनसेलका दुई छुट्टै नंबर सार्वजनिक गरिएको छ । नेपाल टेलिकमको मोबाइलबाट १६६००१७२०० एनसेलबाट ९८०१५७२१११ नम्बरमा निःशुल्क फोन गरी भूकम्पप्रभावित ३१ जिल्लाका प्रभावितहरुले गुनासो तथा आफ्ना समस्या सुनाउन पाउनेछन् ।
टोल फ्री नंबरमा आँउने गुनासो सुन्नका लागि तत्कालका लागि २ जना कर्मचारी राखिएको छ । तर प्रभावितले २४ सै घण्टा फोन गरेर आफ्नो गुनासो सुन्ने व्यवस्था गरिएको छ । कार्यालय भन्दा अघिपछिको समयमा प्रभावितले राखेको आफ्नो गुनासो रेकर्ड हुने व्यवस्था गरिएको छ ।
टोलफ्री नम्बरको शुभारम्भ गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले यो सेवाबाट भूकम्पप्रभावित र प्राधिकरणबिच दोहोरो सञ्चार सेवा हुने बताए । उनले यो प्रक्रियाबाट प्रभावितको समस्या छिटो समाधान गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
यसैबीच प्राधिकरणले भूकम्प प्रभावित जिल्लाका सदरमुकाम गएर स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखलाई पुनर्निर्माणबारेमा अभिमुखीकरण तालिम समेत दिने भएको छ ।






