४ वर्षदेखि खोरमा थुनिएकी युवतीको उपचार सुरु

उपचार खर्च जुटाउन नसक्दा खोरमा थुनिएकी इलाम दानाबारी वडा नं ९ सधुवाकी २६ वर्षीया अम्बिका गिरीको उपचार सुरु गरिएको छ । आर्थिक अभावमा उपचार गराउन नसक्दा चार वर्षदेखि खोरमा थुनिएर बस्न बाध्य गिरीको राससको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशन र प्रसारण गरेपछि उनलाई सदरमुकाम ल्याएर उपचार सुरु गरिएको हो ।
समाचार प्रकाशनपछि नागरिक अगुवा तथा समाजसेवी धर्म गौतमले जिल्ला अस्पतालका चिकित्सक रवि शाह, सञ्चारकर्मीसहितको टोलीले उनलाई सदरमुकाम ल्याउन सफल भएको हो । गिरीलाई पुस ४ गते जिल्ला स्वास्थ्य कार्यालयको वार्डमा ल्याएर चिकित्सकको निरन्तर निगरानीमा उपचार सुरु गरिएको हो ।
घरमा केही खान नमान्ने उनलाई अहिले फकाएर खुवाउन र त्यहीँ खानेकुरामा औषधि मिसाएर दिन थालिएको छ । गिरीको उपचारका लागि गौतमको अगुवाइमा विभिन्न सङ्घसंस्था, व्यापारी, उद्योगीसँग आर्थिक सहयोग सङ्कलन गरिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले अहिले गिरीको प्राथमिक उपचार गरिरहेको छ । मानसिक रोगले ग्रसित बनेकी उनलाई परिवारले आर्थिक अभावमा उपचार गराउन नसकेर खोरमा थुनेर राखेका थिए । पहिले रातभरि रुने, कराउने र अश्लील बोल्ने गर्थिन् । “अहिले भने केही सुधार आएको छ”– आमा देउरुपाले भन्नुभयो ।
गिरीको जिल्ला अस्पतालमा नै उपचार गर्न सकिने चिकित्सक रवि शाह बताउनुहुन्छ । “उनको उपचार जिल्लामै सम्भव छ, उनलाई निरन्तर एक महिनासम्म राखेर उपचार गरेपछि केही सुधार आउँछ”–शाहले भन्नुभयो–“उपचार हुँदैन र निको हुँदैन कि भनेर डराउनु पर्दैन् ।”
रासस