प्रधानमन्त्रीमा ओली र कोइरालाको सीधा टक्कर

काठमाण्डाै २३ असाेज । नेपालकाे नयाँ प्रधानमन्त्रीका लागि कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले  उमेद्वारी दर्ता गरेका छन् । राष्ट्रपतिसमक्ष राजीनामा बुझाए लगतै कोइरालाले बानेश्वर पुगेर उम्मेदवारी दर्ता गरेका कहुन् । कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल छन् भने  अाेलीकाे प्रस्तावक एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् ।

उम्मेदवारी दर्तापछि कोइरालाले पार्टीको निर्णय अनुसार उम्मेदवारी दिएको बताए । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कोइरालाले आफ्नो उम्मेदवारीले सहमतिको राजनीति नसकिएको बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीका आकांक्षी शीर्ष तीन नेतालाई दिएको थियो । कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेलबीच आइतबार विहान भएको छलफलमा उम्मेदवारबारे सहमति भएको थियो ।

व्यवस्थापिका संसदको भोलि आइतबार ११ बजेको बैठकमा मतदान हुनेछ ।  ओलीको समर्थनमा साना र ठूलासहित २५ दल रहेको एमाले नेताले बताएका छन् । एमालेका १८३, एमाओवादीका ८३ र राप्रपा नेपालका २५ सभासद छन् । तीन दलको कुल मत २९१ हुन्छ । ओलीलाई साना दलको पनि समर्थन छ । प्रधानमन्त्री बन्न ओलीलाई आवश्यक ३०० मत पुर्‍याउन तीन दलबाहेक थप ९ मतमात्रै चाहिन्छ ।